अबको पाँच वर्षमा ९० प्रतिशत जनसंख्यालाई सुरक्षित खानेपानीको पहुँचमा पुर्‍याउँछौँ : मन्त्री यादव

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ९
|
255 views

ललितपुर - ललितपुर । खानेपानीमन्त्री प्रदीप यादवले अबको पाँच वर्षभित्रमा अर्थात् सन् २०३० सम्म ९० प्रतिशत जनसंख्यालाई सुरक्षित खानेपानीको पहुँचमा पुर्‍याउने गरी सरकारले योजनाबद्ध तरिकाले काम गरिरहेको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले आफ्नो मातहतको मन्त्रालयका लागि विनियोजित बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री यादवले उपलब्ध स्रोत साधनको प्रयोग गरी आगामी पाँच वर्षभित्रमा ९० प्रतिशत जनसंख्यालाई सुरक्षित खानेपानीको पहुँचमा पुर्‍याउने सरकारको योजना रहेको र त्यसै अनुरुप देशका सबै स्थानमा स्वच्छ खानेपानी उपलब्ध गराउन मन्त्रालयले तदारुकताका साथ काम अगाडि बढाएको बताए ।

एक घर एक धाराको योजना स्वरुप सबैमा सुद्ध खानेपानी वितरण गर्ने योजनामा अझै पनि रकम अभाव रहेको गुनासो व्यक्त गरे।
तराईका कतिपय ठाउँमा अझै पनि जनताले आर्सेनिकयुक्त पानी पिउनु परेको बाध्यतालाई उजागर गर्दै मन्त्री यादवले सन् २०३० सम्म ९० प्रतिशतमा स्वच्छ खानेपानीको पहुँच पुग्ने जिकिर गरे ।

काठमाडौं उपत्यका लगायत आसपासका कतिपय सुकुम्बासी बस्तीमा देखिएको खानेपानीको समस्या अब हटेर जाने र एक घर एक धाराको योजना छिट्टै लागू हुने बताए । उपत्यका भित्र बाह्रै महिना खानेपानी उपलब्ध गराउन शिवपुरी निकुञ्जभित्र रहेको बागमती खोलाबाट पानी ल्याउन खोज्दा निकुञ्जले रोकेको बताए। खानेपानी मन्त्रालयलाई खानेपानीको पाइप राख्न नदिने निकुञ्जले निजी क्षेत्रलाई भने विना रोकतोक पाइप राख्न दिएको भन्दै उनले वन मन्त्रालयको ध्यानाकर्षण गराए।

आगामी दिनमा उपत्यकाका सुकुम्बासी बस्तीमा समेत मेलम्ची खानेपानीको धारा जडान गर्नुपर्नेमा मन्त्री यादवले जोड दिएका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube