
ललितपुर । खानेपानीमन्त्री प्रदीप यादवले अबदेखि काठमाडौंँमा बाह्रै महिना मेलम्चीको पानी आउने बताएका छन् । उनले मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएसँगै खानेपानीको क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी गरेका छन् । मन्त्री यादवले गत वर्षको असार ३१ गते पदभार सम्हालेका थिए ।
“गतवर्षको दसैँ अगाडि नै मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने बाचा गरेको थिए, सोहीअनुसार गत असोज २२ गतेदेखि सुन्दरीजल प्रशोधन केन्द्र हुँदै काठमाडौँ उपत्यकामा आपूर्ति गर्न सफल भएँ”, उनले भने ।
विगतका वर्षमा पुस र माघमा मेलम्चीको पानी आपूर्ति हुने गरेकामा आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि असोज २२ गते नै पानी ल्याउन सफल भएको उनको भनाइ छ । “यसका लागि म आफै मेलम्ची पुगेर स्थानीय जनप्रतिनिधि र सङ्घर्ष समितिका पदाधिकारीसँग छलफल गरेको थिएँ, फलस्वरुप काठमाडौँ उपत्यकामा बाह्रै महिना खानेपानी आपूर्ति भएको अवस्था छ”, उनले भने ।
अहिले दैनिक छ करोड लिटरभन्दा बढी पानी काठमाडौँमा आपूर्ति भइरहेको मन्त्री यादवले दाबी गरेका छन् ।
साथै खानेपानी मन्त्रालयको व्यवस्थापन सर्वेक्षण गरी खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत अस्थायी रुपमा सञ्चालित आयोजनालाई १५ वटा स्थायी कार्यालयका रूपमा स्थापना गरिनुका साथै काठमाडौँ उपत्यकाको चक्रपथ बाहिर मेलम्चीको खानेपानी विस्तारका लागि पाँच वटा प्याकेजमा सार्वजनिक खरिद प्रक्रिया थालिएको उनले जानकारी दिए ।
मन्त्री यादवका अनुसार यसबीचमा नेपाल खानेपानी संस्थान कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी विनियमावली, २०८१ जारी गरी २०७४ यता रोकिएको पदपूर्ति प्रक्रिया पुनःसञ्चालनमा ल्याइएको छ ।
साथै अन्तरराष्ट्रिय साझेदारी विस्तारअन्तर्गत भारत सरकारसँग खानेपानी तथा सरसफाइसम्बन्धी साझेदारीका लागि द्विपक्षीय सम्झौता गरिएको छ । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँग मूल व्यवस्थापन, प्रविधि हस्तान्तरण, अनुसन्धान, तथ्याङ्क आदानप्रदानलगायतका विषयमा समझदारी भएको उनको भनाइ छ ।
काठमाडौँको सुन्दरीजलमा २५ दशमलव पाँच करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माणका लागि खरिद प्रक्रिया अघि बढाइएको छ भने सल्लाघारी, कोड्कु, धोबीघाटका ढल प्रशोधन केन्द्रको निर्माण पुनःसुरु भएको छ । कीर्तिपुर र महाँकालचौरमा क्रमशः ६० लाख र ८० लाख लिटर क्षमताका खानेपानी ट्याङ्की निर्माण गरिएको जानकारी मन्त्री यादवले गराएका छन् ।
मन्त्री यादवका अनुसार विभिन्न खानेपानी आयोजनाका लागि करिब रु १२ अर्बको बजेट सहमति प्राप्त गरी निर्माण अघि बढेको छ । “पछिल्लो एक वर्षमा बजेट फछ्र्यौट प्रक्रियालाई द्रुत गतिमा अघि बढाइएको छ, आर्थिक वर्ष २०८१÷८२ मा खानेपानी तथा ढल व्यवस्थापन विभागको पुँजीगत खर्च ८६ प्रतिशत पुगेको छ ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया