२०८२ फाल्गुन ६ | Feb 18, 2026

अब अमेरिकाको भिसा लिन १५ हजार डलर धरौटी राख्नुपर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २१
|
1.4k views

ललितपुर । संयुक्त राज्य अमेरिकाले आफ्नो भिसा नीतिमा थप कडाइ गरेको छ । आफ्नो देशमा बढ्दो आप्रसनको समस्यालाई समाधान गर्न भन्दै अमेरिकाले भिसा लिँदा धरौटी राख्नु पर्ने व्यवस्था ल्याएको हो ।

जसअनुसार टूरिस्ट वा बिजनेस भिसाका लागि आवेदन गर्दा न्यूनतम ५ हजारदेखि बढीमा १५ हजार डलरसम्म धरौटी राख्नु पर्नेछ । कुन देशको लागि कति धरौटी तोक्ने भन्ने निर्णय क्रमिकरुपमा गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार धरौटी रकम अमेरिका पुगेर फर्किएपछि फिर्ता हुनेछ । तर नफर्किने वा भिसा अवधि भन्दा लामो समय (ओभर स्टे) बस्नेहरुको धरौटी जफत हुनेछ ।

‘व्यापारिक प्रयोजनका लागि या अस्थायी भिजिटर या मनोरञ्जनका लागि भिसा आवेदन (बी–१ र बी –२) गर्ने विदेशी तथा विदेश मन्त्रालयले तयार पारेको जानकारीअनुसार भिसा अवधि सकिएर पनि बसिरहने दर उच्च भएका देशका नागरिकहरू जहाँ जाँचका लागि आवश्यक जानकारी अपुग रहने गरेको देखिन्छ वा अथवा लगानीका आधारमा नागरिकता लिने विदेशी वा कुनै आवासीय आवश्यकताबिना नागरिकता प्राप्त गरेका विदेशीहरू यो नमुना कार्यक्रमबाट प्रभावित हुन सक्छन्। ’

विदेश मन्त्रालयले हिजो (मङ्गलवार) प्रकाशित गरेको सूचना अनुसार अहिलेलाई अफ्रिकाका दुई देश मलावी र जाम्बियाका नागरिकले टूरिस्ट वा बिजनेस भिसाका लागि आवेदन गर्दा १५,००० अमेरिकी डलर धरौटी राख्नुपर्ने नियम लागू गरिएको विदेश मन्त्रालयले उल्लेख गरेको छ। अरू देशका नागरिकहरूले पनि छिट्टै त्यसैगरी धरौटी रकम जम्मा गर्नुपर्ने हुन सक्ने अधिकारीहरूले बताएका छन्।

यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो कार्यकाल आरम्भ भएको पहिलो दिन भिसा जारी गर्दा धरौटी लिन सकिने प्रावधानसहितको कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

अमेरिकी विदेश मन्त्रालयका अनुसार मलावीका झन्डै १४ प्रतिशत र जाम्बियाका ११ प्रतिशत नागरिकहरू भने भिसा अवधिभन्दा बढी समय बस्ने गरेको पाइएको उक्त मन्त्रालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया