
ललितपुर । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले यही असार ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
यसपटक इनर्जी लिमिटेडले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । जसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ३० हजार ५०० कित्ता साधारण शेयर प्रथम चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।
उक्त शेयरमा गुल्मी जिल्ला मुसीकोट नगरपालिका, बाग्लुङ जिल्ला गल्कोट नगरपालिका र बाग्लुङ जिल्ला बडीगाड गाउँपालिकाका स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
साथै सर्वसाधारण इच्छुक लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने २९ करोड १९ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २९ लाख १९ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गर्दै आएका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीले आफ्ना कर्मचारीहरुका लागि भने ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषहरुका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर सुरक्षित गरेको छ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
त्यसैगरी आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा असार २३ र ढिलोमा साउन ६ गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार २३ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ ।
यस्तै, कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गाल्कोट शाखा, प्रभु बैंकको गाल्कोट शाखा र दरम खोला पावरहाउसबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया