आईपीयू दिगो विकास स्थायी समितिमा माल्दिभ्स र इरानका उम्मेदवारलाई पछि पार्दै नेपाल निर्वाचित

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २४
|
561 views

ललितपुर - काठमाडौं । अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को दिगो विकास स्थायी समितिमा माल्दिभ्स र इरानका
उम्मेदवारलाई पछि पार्दै नेपाल पहिलोपटकको उपस्थितिमै निर्वाचित भएको छ ।

आईपीयूको दिगो विकास स्थायी समिति सदस्यमा एसिया–प्रशान्त क्षेत्रका तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै
राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य विजयी भएकी हुन् ।

    उज्बेकिस्तानको राजधानी तास्कन्दमा भएको सम्मेलनमा माल्दिभ्स र इरानका उम्मेदवारलाई पछि पार्दै शाक्य
    निर्वाचित भएकी हुन् ।

      सभामुख देवराज घिमिरेले दिगो विकासको क्षेत्रमा गहिरो अनुभव हासिल गरेकी शाक्यलाई समर्थन गर्न आईपीयूको
      दिगो विकास स्थायी समितिमा रहेका ३६ देशका सभामुखलाई पत्र पठाउँदै निर्वाचित गर्न आग्रह गरेका थिए ।

      सभामुख घिमिरे र शाक्यसहितको प्रतिनिधिमण्डल अन्तर–व्यवस्थापिका संघको १५०औँ वार्षिक सभा तथा
      असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन अहिले उज्बेकिस्तानको राजधानी
      तास्कन्दमा छन् ।

      शाक्यले त्यहाँ दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रका तर्फबाट उम्मेदवारी दिएकी थिइन् । यो
      मञ्चमा पहिलोपटक उपस्थिति जनाएको नेपाल पहिलो प्रयासमै निर्वाचित भएको हो ।

      शाक्य राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य तथा सोही समितिको दिगो विकास
      उपसमिति संयोजक पनि हुन् ।

       पात्रो/राशिफल  रेडियो YouTube