२०८२ फाल्गुन ६ | Feb 18, 2026

आउन थाले क्षतिको विवरण : बिमा कम्पनीमा २० अर्ब ७० करोड रुपैयाँको दाबी

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २
|
918 views

ललितपुर। गत भदौ २३ गते जेनजीको प्रदर्शन र २४ गतेको विध्वंशात्मक आन्दोलनले मुलुकमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । आन्दोलन नियन्त्रण बाहिर गएपछि मुलुकभर सरकारीदेखि निजी सम्पत्ति तोडफोड र आगजनी गरिएको थियो । उक्त तोडफोड र आगजनीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य अहिले पनि जारी छ ।

विवरण संकलन पश्चात् बिमामा आवद्ध भएका भौतिक सम्पत्तिको विवरण सार्वजनिक सुरु गरिएको छ । हाल बिमा कम्पनीहरुले क्षतिको विवरण संकलन गरेर धमाधम नेपाल बिमा प्राधिकरणमा पठाउन थालेका छन् । पछिल्लो विवरण अनुसार मंगलबारसम्म अर्थात् भदौ ३१ गतेसम्म रु. २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँको दाबी परिसकेको छ भने १८ बिमा कम्पनीमा एक हजार ९८४ दाबी परेको प्राधिकरणले जनाएको छ ।

पछिल्लो दाबी विवरण अनुसार सबैभन्दा बढी दी ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा पाँच अर्ब १४ करोड ७९ लाख रुपैयाँको दाबी परेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा चार अर्ब ९३ करोड २२ लाख, शिखर इन्स्योरेन्समा दुई अर्ब ३९ करोड चार लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा एक अर्ब ५९ करोड ६ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा एक अर्ब ४७ करोड ५५ लाख रुपैयाँको दाबी परेको छ ।

यस्तै, हिमालयन एभरेस्ट इन्स्योरेन्समा एक अर्ब १५ करोड ६२ लाख, नेको इन्सुरेन्समा एक अर्ब नौ करोड ५३ लाख, सानिमा जीआईसीमा ७८ करोड ९३ लाख, राष्ट्रिय बिमा कम्पनीमा ४९ करोड ५१ लाख, युनाइटेड अजोड इन्स्योरेन्समा ४८ करोड ७४ लाख, नेपाल इन्स्योरेन्समा ४६ करोड ९४ लाख, एनएलजी इन्स्योरेन्समा ३८ करोड ५८ लाख, प्रभु इन्स्योरेन्समा १९ करोड १८ लाख, नेसनल इन्स्योरेन्समा ६ करोड ८२ लाख रुपैयाँको दाबी परेको छ ।

यसैगरी चारवटा माइक्रो निर्जीवन बिमामा पनि दाबी परेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा एक करोड १३ लाख, स्टार माइक्रो इन्स्योरेन्समा ६७ लाख सात हजार, नेपाल माइक्रो इन्स्योरेन्समा ५६ लाख ३६ हजार र ट्रस्ट माइक्रो इन्स्योरेन्समा ४२ लाख रुपैयाँको दाबी परेको प्राधिकरणले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया