२०८२ भाद्र ६ | Aug 22, 2025

आकर्षक बनाइँदै पाल्पा दरबार सङ्ग्रहालय

BusinessPati बिजनेस पाटी
|
२०८१ असार २६

पाल्पा २६ असार २०८१।

ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्र्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको थियो ।

लुम्बिनी प्रदेश सरकार , पुरातत्व विभाग र तानसेन नगरपालिकाको सहकार्यमा दरबार क्षेत्र परिसरमा ढुङ्गा छाप्ने, पर्खाल बनाउने र जीर्ण भएको मूलढोका पुनःनिर्माण जारी छ । दरबारको सुरक्षार्थ बनाइएको पर्खाल र यसभित्रको संरचनामा ढुङ्गा बिछ्याउने काम यस आर्थिक वर्षभित्रै सक्नेगरी धमाधम भइरहेको छ । पुन ः निर्माणक लागि तानसेन नगरपालिकाले चालु आर्थिक वर्षमा रु ४१ लाख र लुम्बिनी प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरेका थिए । यसैगरी मूलढोका पुनःनिर्माण गर्ने काममा पुरातत्व विभागले रु ८१ लाख ९५ हजार विनियोजन गरेको जनाइएको छ ।

राणाकालीन समयमा बनेको मूलढोका जीर्ण बनेपछि यसलाई पुरानै स्वरुप नबिग्रने गरी बनाउन थालिएको तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले जानकारी दिनुभयो । पाल्पाको पहिचानका रूपमा रहेको दरबारको ऐतिहासिक स्वरुप नबिग्रने गरी पुनःनिर्माण सम्पन्न गरेर आन्तरिक मात्र नभई बाह्य पर्यटक भित्र्याउन गरी संरचना तयार पारी पर्यटकीय केन्द्रका रूपमा विकास गर्नुपर्ने स्थानीय सन्तवीर बराल बताउनुभयो ।

उहाँले भन्नुभयो, “पाल्पालीको शान बनेको पाल्पा दरबारको ऐतिहासिकतालाई जोगाउँदै यसलाई थप परिस्कृत गरी आकर्षक बनाउने र उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रूपमा स्थापित गराउन सबैले आ–आफ्नो ठाउँबाट पहल गरौँ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया