२०८२ फाल्गुन ६ | Feb 18, 2026

आगामी १५ बर्षमा बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गरिनेछ : श्रममन्त्री अर्याल

BusinessPati बिजनेस पाटी
|
२०८१ बैशाख १०
|
663 views

काठमाडौं १० वैशाख २०८१।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले आगामी १५ बर्ष भित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानु पर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । आइतबार मन्त्रालयले आयोजना गरेको ‘वृहत रोजगार मेला’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले १५ बर्षमा बाध्यकारी वैदेशिक रोजागरीको अन्त्य हुने बताएका हुन् । ‘हामीले अहिले देखि नै रोजगारीको क्षेत्रमा काम गर्न पाउने हो भने आगामी १५ बर्षमा बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य हुनेछ,’ उनले भने ।

श्रम मन्त्रालयले रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र प्रशिक्षण केन्द्रहरु बिच समन्वय गर्ने उद्धेश्यका साथ वृहत रोजगारीको मेला आयोजना गर्ने तयारी गरेको छ । रोजगार मेला आयोजनाका बिषयमा सुझाव लिनका लागि मन्त्रालयले आइतबार छलफल आयोजना गरेको थियो ।

मेलामा मुख्य गरी श्रमिकको खोजीमा रहेका रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र विभिन्न सीपयुक्त तालिम प्रदान गरि रहेका प्रशिक्षण केन्द्रको सहभागीता रहने मन्त्री अर्यालले बताए । ‘मेलामा रोजगारदाताले आफुलाई चाहिने श्रमिकमा हुनुपर्ने सीपको बिषयमा जानकारी दिनेछन् भने अवसरको खोजीमा रहेका युवा रोजगारीको लागि आवश्यक पर्ने सीपको बारेमा जानकारी पाउनेछन् । साथै मेलामा उपस्थित भएका तालिम केन्द्रले ती युवालाई लक्षित गरी रोजगारदाताले चाहे अनुसारको तालिम सञ्चालनका लागि रणनीति बनाउन सक्नेछन्,’ उनले बताए ।

त्यस्तै, छलफल कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव घनश्याम उपाध्यायले आन्तरिक रोजगारीलाई प्रबद्र्धन गर्ने उद्धेश्यले वृहत रोजगार मेलाको आयोजना गर्न लागिएको बतए । मेलालाई सफल बनाउन सम्बन्धित सबै निकायसँग सुझाव लिइने समेत उनले बताए ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोविन्द प्रसाद रिजालले आन्तरिक रोजगारीको प्रवद्र्धन गरी वैदेशिक रोजगारीको परनिर्भरतालाई कम गर्नका लागि वृहत रोजगार मेलाको परिकल्पना गरिएको बताए ।

छलफल कार्यक्रममा नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुगांना, होटल व्यवसायी संघका अध्यक्ष विनायक शाह, उद्योग बाणिज्य महासंघ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल टे«ड युनियनका उपाध्यक्ष तेजेन्द्र कार्की, रोजगार विज्ञ रामेश्वर नेपाल लगायतका व्यक्तिले आ आफनो सुझाव राखेका थिए । त्यस्तै, आईएलओका प्रतिनिधि सौरब जोशीले कार्यपत्र प्रस्तुत गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया