आजबाट ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुँदै

काठमाण्डौ  ३० कार्तिक २०८१

नेपालले आजदेखि बंगलादेशमा बिजुली निर्यात गर्दैछ । नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्री तथा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मध्याह्न १२ बजे भर्चुअल माध्यमबाट स्वीच थिचेर उक्त कार्यको उद्घाटन गर्ने कार्यक्रम छ ।

भारतीय प्रसारण लाइनमार्फत शुक्रबार दिउँसो नेपालको बिजुली बंगलादेश पुग्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

नेपाल–भारत अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४ सय केभी प्रसारण लाइन हुँदै विद्युत बंगलादेश निर्यात हुने छ । मुजफ्फरपुरबाट भारतको बहरामपुर–भेरमारा–बंगलादेश ४ सय केभी प्रसारण लाइनमार्फत विद्युत बंगलादेश पुग्नेछ । विद्युतको मिटर भारतको मुजफ्फरपुरमा रहेको छ ।

नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत व्यापार निगमबीच गत १७ असोजमा बंगलादेशमा ४० केगावाट विद्युत बिक्री गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो । कार्यकारी निर्देशक घिसिङले विद्युत निर्यात आगामी जुनबाट नियमित हुने बताए ।

बंगलादेशलाई बिजुली बिक्री गरेबापत नेपालले वार्षिक ९.२ मिलियन अमेरिकी डलर आम्दानी गर्ने लक्ष्य लिइएको प्राधिकरणले जनाएको छ ।

बंगलादेश विद्युत बिक्री गरी प्राधिकरणले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने सम्झौतामा उल्लेख छ । बंगलादेशको सीमासम्म पुग्दा विद्युतको प्रतियुनिट दर करिब ७.६ सेन्ट पुग्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया