आज धन्वन्तरी जयन्ती : गरगहना र भाँडाकुँडा खरिद गर्दा शुभ हुने मान्यता

BusinessPati बिजनेस पाटी
|
२०८१ कार्तिक १३
|
612 views

ललितपुर - काठमाण्डौ १३ कार्तिक २०८१

आज धन्वन्तरी जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष कात्तिक कृष्ण पक्षको त्रयोदशीका दिन यो पर्व मनाउने चलन छ । यस दिनलाई धन त्रयोदशी र धनतेरस पनि भन्ने गरिन्छ ।

    पाँच दिनसम्म मनाइने यमपञ्चकको प्रत्येक दिनको आ–आफ्नै धार्मिक महत्व रहेको छ। यमपञ्चकको पहिलो दिनलाई धन त्रयोदशी अथवा धनतेरस भनिन्छ। यो दिनलाई विशेषगरी दीपावलीको किनमेल र लक्ष्मी पूजाका लागि अत्यन्तै शुभ मानिन्छ।

    धनतेरसका अवसरमा नयाँ सामग्री, विशेषगरी भाँडाकुँडा र बहुमूल्य धातुहरू जस्तै चाँदी र सुन खरिद गर्न शुभ मानिन्छ। आजको दिन खरिद गरिएका वस्तुहरू घरको पूर्व–उत्तर दिशामा राखेर लक्ष्मी पूजामा समर्पण गर्नाले लक्ष्मी माताको आशीर्वाद प्राप्त हुने विश्वास रहेको छ। धार्मिक मान्यताअनुसार यस दिनमा माता लक्ष्मीजीको कमलको पुष्पासनमा बसेको मूर्ति वा तस्बिर घरमा भित्र्याउँदा धनधान्यले सम्पन्न हुने जनविश्वास छ।

      यस दिन चाँदीको साना वस्तुहरू खरिद गर्नु पनि शुभ मानिन्छ, भने सम्भव भएसम्म सुन किनेर घरमा राख्नाले अत्यन्तै लाभ मिल्ने विश्वास छ। यसै दिन नेपाल राष्ट्र बैङ्कले पनि सुनको असर्फी तथा चाँदीको सिक्का बिक्री गर्दै छ ।

      Advertisement

      आज कौडी, कमल गट्टा र सिङ्गो धनियाँ किनेर लक्ष्मी पूजामा समर्पित गर्दा धनको कमी नहुने र मानसिक शान्ति प्राप्त हुने मान्यता छ। लक्ष्मी पूजाका लागि पवित्र मनले व्रत बसेर पूजा अर्चना गर्ने परम्परा रहेको छ।

      धनतेरसको दिन कालो रंगको कुनै पनि वस्तु खरिद गर्नु अशुभ मानिन्छ। यसो नगर्नाले लक्ष्मी र कुबेर प्रसन्न भई घरमा धन र समृद्धिको बास हुने विश्वास गरिएको छ। धनतेरसदेखि नै सुरु हुने लक्ष्मी पूजाले यमपञ्चकका बाँकी दिनहरूमा लक्ष्मी माताको कृपा प्राप्त गराउने विश्वास रहँदै आएको छ।

       पात्रो/राशिफल  रेडियो YouTube