
ललितपुर । आज पनि प्रतिनिधिसभाको बैठक बस्न नसकेपछि भोलिलाई सारिएको छ । अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आज दिउँसो १ बजे बोलाइएको बैठक दलहरूबीच सहमति जुट्न नसकेपछि आजै दिउँसो ३ः१५ बजे बस्ने तय गरिएको थियो । तर, यस अवधिमा पनि सहमति नजुटेपछि बैठक भोलिसम्मलाई सारिएको हो ।
विपक्षी दलले भिजिट भिसा प्रकरणलाई लिएर सदन अवरुद्ध गर्दै आएका छन् । यता सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको प्रष्टीकरण दिएका छन् ।
बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानबिनको प्रक्रियासमेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको जिकिर गरेका हुन ।
दलहरूबीच निरन्तर छलफल भइरहेकाले सदनको अवरोध छिट्टै हट्ने गुरुङले बताए । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने भिजिट भिसा प्रकरण पनि नक्कली भुटानी शरणार्थी जस्तै बनेर आएकाले छानबिन गर्नुपर्ने अडान आफूहरूले राखेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो सामान्य विषय नभएकाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनलाई सघाउनुपर्ने बताए । तर सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भने भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नको लागि समिति नबन्ने प्रष्ट पारेका छन् ।
उनले विपक्षीले अपरिपक्व ढङ्गले माग राखेको भन्दै पुनर्विचार गर्न आग्रह गरे । यसैबीच गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूले सदनमै जवाफ दिने दोहो¥याएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको विषय सदनमा उठेकाले सदनमै जवाफ दिने बताए । यस्तै, उनले राप्रपाका नेताहरूले राजावादी आन्दोलन छाडे लगत्तै सुरक्षाकर्मी फिर्ता गराउने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया