आज प्रजातन्त्र दिवस

काठमाडौँ, ७ फागुन २०८१ । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।
प्रजातन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश जारी गर्दै मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई सङ्घर्ष र सहिदको बलिदानबाट स्थापित भएको स्मरण गराएका छन् ।
शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै विविध कार्यक्रमका साथ आज देशभर प्रजातन्त्र दिवस मनाउन लागिएको हो ।
प्रजातन्त्र स्थापना भएको ७४ वर्षपछि सार्वभौम नेपाली नागरिकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकार प्राप्तिको अभ्यास गरिरहेका छन् । सोही सन्दर्भमा सरकारले सैनिक मञ्च टुँडिखेलमा भव्य रुपमा प्रजातन्त्र दिवस मनाएको छ । प्रजातन्त्र दिवस समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्रजातन्त्र दिवस’का अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गौरवपूर्ण एवं ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूमा दिवसको शुभकामना व्यक्त गरेका छन् । यसैगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सर्वाङ्गीण विकास र समृद्धिका लागि निरन्तर लाग्न सबै राजनीतिक दल, नागरिक समाज, सरोकार भएका निकायलाई आग्रह गरेकी छन् ।
सामाजिक सञ्जाल एक्समार्फत ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको यो दिनमा नेपाल र नेपाली जनताको पक्षमा निरन्तर क्रियाशील रही समृद्धिका लागि एकताबद्ध हुनुपर्ने बताएकी छन् ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सबै एकताबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता भएको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना दिँदै उनले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै संविधानको कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशीला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु वर्तमानको कार्यभार भएको बताएका छन् ।
साथै उनले लोकतन्त्रको रक्षा गर्नु हामी सबैको साझा दायित्व भएको स्मरण गराएका छन् । अध्यक्ष नेपालद्वारा ७५औँ प्रजातन्त्र दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उनले राज्यशक्तिको स्रोत जनता मात्र हुन् भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा वीर वीराङ्गना सहिदको बलिदानबाट स्थापित गरेको हुनाले नेपालको इतिहासमा आजको दिन गौरवपूर्ण र अविस्मरणीय रहेको उल्लेख गरेका छन् ।
यस्तै सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सभामुख घिमिरेले आज जारी गरेकोे शुभकामना सन्देशमा प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको सपना साकार पार्न आफ्नो जीवन उत्सर्ग गर्ने वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उक्त प्रेरणा दिने बताएका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहले भने देशको वर्तमान अवस्थाप्रति चरम असन्तुष्टि प्रकट गरेका छन् । राष्ट्र जोगाउने र राष्ट्रिय एकता कायम राख्ने हो भने आफूहरुलाई साथ दिन सबै देशवासीलाई उनको अपिल छ ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक भिडिओ मन्तव्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले यस्तो अपिल गरेका हुन् । राष्ट्रको हितका लागि आफूले त्याग गरेको, तर यो त्यागलाई कमजोरी नसम्झिन उनले सुझाव दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया