२०८२ भाद्र १६ | Sep 01, 2025

आज राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १६
|
510 views

ललितपुर । आज राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक सोमबार अपराह्न सवा ३ बजे बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेश गर्नेछन् । राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यसूची छ ।

यस्तै, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक,२०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।

त्यसैगरी आजै दुई संसदीय समितिको बैठक बस्दैछ । निर्धारित कार्यसूची अनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ का सम्बन्धमा सरोकारवालासँग सैद्धान्तिक पक्षसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची छ । विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामती विधेयक, २०८० को मस्यौदा प्रतिवेदन’मा छलफल गर्ने कार्यक्रम छ । बैठक विहान ११ः३० बजे बस्ने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement