
सिरहा । वर्षको एकदिन अर्थात् वैशाख १ गते मात्र फुल्ने फूल हेर्न लाहानमा भीड लागेको छ । यस वर्ष पनि सुनाखरी फूल हेर्न र त्यहाँको स्थानीय मन्दिरमा पूजा गर्न विहानैदेखि भक्तजनको भिड लागेको छ । वर्षेनी सिरहाको लहानस्थित पर्यटकीय क्षेत्रमा नयाँ वर्षको अवसर पारेर मेला लाग्ने गरेको छ ।
विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि लाहानमा लागेको मेलामा फूल हेर्नकै लागि पनि निकै ठूलो संख्यामा मानिसहरुको उपस्थिति देखिएको छ । लहान नगरपालिका–१२ र २२ मा पर्ने यस फूलबारी परिसरको सलहेशको मन्दिर अगाडि रहेको हारमको रुखमा यसवर्ष पनि सुनाखरी फूल फुलेको छ ।
ठूलो क्षेत्रफलमा (करिब नौ विगाहा) फैलिएको यस फूलबारीमा मेला भर्न वर्षेनी नेपाल तथा भारतका विभिन्न राज्यबाट हजारौँ श्रद्धालूहरू पूजापाठ गर्न आउँछन् । आज पनि भक्तजनको भीड व्यवस्थित गर्न स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरी सुरक्षा व्यवस्थापन चुस्त गरिएको छ ।
१४औँ शताब्दीका राजा सलहेसको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाको सम्झनास्वरुप यहाँ प्रत्येक वर्ष वैशाख १ गते मेला आयोजना हुने गरेको छ । आफ्नो क्षेत्रमा लोक नायकको रुपमा पुजिने राजा सलहेश र प्रेमिका मालिनीको प्रेम प्रतीकको रुपमा लिइने सुनाखरी फूलको माला हेर्न मानिसको भीड लाग्ने गरेको मन्दिरका पुजारी जीतेन्द्रसिंह धामी बताउँछन् ।
राजा सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र चौधौँ शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले सन्तान प्राप्ति, चर्मरोग, कुष्ठरोगलगायतका समस्या हरण हुने जनविश्वाससमेत रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया