
ललितपुर । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ । आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने र नीति तथा कार्यक्रम पारित गर्ने भएका छन् । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२ र ८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिन भ्याउने गरी सम्भावित कार्यसूची तय भएको छ ।
आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ । नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रतिनिधिसभामा यही वैशाख २२ गतेदेखि सुरु भएको सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा उठेका सबै प्रश्नहरुको जवाफ सम्भवत आज प्रधानमन्त्रीले ओलीले दिने भएका छन् ।
त्यसैगरी सम्भावित कार्यसूचीअनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२ र ८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै आज राष्ट्रियसभामा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने सम्भावित कार्यसूची तय भएको छ । प्रधानमन्त्री ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथि पेश भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरी आजै पारित गर्ने कार्यसूची तय भएको छ ।
राष्ट्रियसभामा पनि प्रतिनिधिसभामा जस्तै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची निर्धारण गरिएको छ । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दैछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया