२०८२ आश्विन १६ | Oct 02, 2025

आज हरितालिका तीज, पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १०
|
408 views

काठमाडौँ । आज हरितालिका तीज पर्वको उपलक्ष्यमा देशभरका शिवालयहरुमा विहानैदेखि भक्तजनहरुको भिड लागेको छ । विशेष गरी आज पशुपतिनाथ मन्दिरमा विशेष भक्तजनहरुको भिड लाग्ने गर्छ । पशुपति दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथको दर्शनार्थी आउने भक्तजन एवं विशेषगरी हिन्दू नारीहरुलाई सहज रुपमा दर्शन गर्न पाउने व्यवस्थाका लागि पशुपतिनाथका चार ढोका बिहान ३ः०० बजेदेखि नै चार ढोका खुला गरिएको कोषले जनाएको छ ।

चार ढोका खुलेपछि सेवासुविधाका लागि आवश्यकपर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसादको व्यवस्था, दर्शनमार्गको व्यवस्था एवं सुधार, जुत्ताचप्पल राख्ने ठाउँको व्यवस्था, आकस्मिक स्वास्थ्य सेवा, उपासनासहितको मनोरञ्जनात्मक गीत, भजन कीर्तन, दिपावली, व्रतालुहरुको गौदान गर्ने स्थानको व्यवस्थालगायत सबै किसिमले व्यवस्था गरिएको कोषको दावी छ ।

यस्तै, पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चार वटा लामको व्यवस्था गरिएको छ । पहिलो लाम गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

दोस्रो लाम मित्रपार्क–जयबागेश्वरी–पाँचागणेश–भीमसेनस्थान–भूवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

तेस्रो लाम पिङ्गलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई कोटीलिटेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रुपमा निर्माण गरिएको जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

चौथो लाम तिलगङ्गा–राम मन्दिर हुँदै वागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर श्रीपशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिइ फर्कने व्यवस्था मिलाइएको छ । मूल मन्दिरभित्र भने आठ वटा लामको व्यवस्था गरिएको छ ।

घण्टौ लाइन बस्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै यसपटक पशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ । श्रीपशुपतिनाथको दर्शन गरी फर्कंदा पशुपतिनाथ मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि मन्दिरको चन्दन पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ्गा वनकाली, गौशाला, जयवागेश्वरीमासमेत वितरणको व्यवस्था मिलाइएको छ ।

साथै भक्तजनहरुलाई कोषले दर्शनार्थीलाई बहुमूल्य गरगहना नलगाउन र भिडभाडमा साना बालबालिकालाई साथ नल्याउन समेत अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया