२०८२ भाद्र ७ | Aug 23, 2025

आन्दोलन अवधिभर राप्रपा नेताहरुलाई सुरक्षाकर्मी नदिइने : गृहमन्त्री लेखक

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २१

ललितपुर । गृहमन्त्र रमेश लेखकले राजावादीहरुको आन्दोलन अवधिभर राप्रपा नेताहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएको स्वीकार गरेका छन् । उनले आन्दोलन रोकेपश्चात तीनै सुरक्षाकर्मीलाई नेताहरुका लागि खटाइने जानकारी दिएका छन् ।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले सरकारले यतिबेला राजतन्त्र पक्षधर नेताहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाएर आन्दोलनमा खटाएको बताए ।

राप्रपाका नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको भन्ने प्रश्नमा उनले आन्दोलनका कारण सुरक्षाकर्मी फिर्ता बोलाएको र आन्दोलन रोकिएसँगै पुनः खटाइने बताए । गणतन्त्र, संघीयता र लोकतन्त्रबाट पछि फर्किने कुराले मुलुकलाई अन्धकारमा लैजाने भन्दै संविधानका आधारभूत व्यवस्था उल्ट्याउने काम नगर्न समेत मन्त्री लेखकले चेतावनी दिए ।

आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राप्रपाका नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको हो ? भन्दै गरेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले “आन्दोलनमा सुरक्षा दिनुपरेका कारण व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको हो र आन्दोलन रोके पश्चात् पुन सुरक्षाकर्मी पठाइने छ” भन्दै स्पष्टीकरण दिएका थिए ।

सरकारले केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितका राप्रपा नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको थियो ।

गृहमन्त्री लेखकले आज सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा अहिले रहेको गणतन्त्र, सङ्घीयता, लोकतन्त्रबाट पछि फर्किने विषयले फेरि मुलुकलाई अन्धकारमा लैजाने बताए । उनले संविधानका व्यवस्था उल्ट्याउने, संविधान फाल्ने जस्ता काममा नलाग्न समेत आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया