२०८२ भाद्र ७ | Aug 23, 2025

आफ्नो कुरा राखेर आज पनि संसदबाट बाहिरिए रास्वपाका सांसद

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ९

ललितपुर । आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधि सभाको बैठकमा बहिष्कार गरेका छन् । उनीहरुले सधैसजो संसदमा नाराबाजी गर्दै भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग जारी राखेका छन् । तर सभामुख देवराज घिमिरेले भने होहल्लाका बीच पनि बैठक नियमित सन्चालन गरिरहेका छन् ।

सभामुखले औपचारिक रुपमा बैठक सुरु भएको जानकारी गराउने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरु आआफ्नो ठाउँबाट उठेर विरोध प्रदर्शन गरेका थिए ।

आइतबारको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले रास्वपालाई पेल्ने काम भएको भन्दै सभामुखको आलोचना गरेका थिए । सोमबार भने सभामुख घिमिरेले रास्वपाका सांसद शिव नेपालीलाई बोल्न समय दिए ।

सांसद नेपालीले वर्तमान सरकारले नै मानव तस्करीको र्‍याकेट चलाउनेलाई संरक्षण गरेको आरोप लगाए र गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदमा विरोध जारी रहने जानकारी गराए ।

आफ्नो माग सम्बोधन नगरी सभामुख घिमिरेले पेलेर संसदको कारबाही अघि बढाएको भन्दै रास्वपाका सांसदहरुले केही दिन सदनमै नाराबाजी गरे भने केही दिनदेखि आफ्नो कुरा राखेर संसद बहिस्कार गर्दै आएको छ ।

आज पनि सभामुख घिमिरेले बैठकलाई नियमित कार्यसूचीमा प्रवेश गराएपछि रास्वपा सांसदहरुले वेल घेराउ गरेका छन् भने राप्रपाका सांसदहरु बैठक कक्षबाट बाहिरिएका छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रालयगत बजेटमाथिको छलफल गर्ने र छलफलका क्रममा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया