२०८२ भाद्र ६ | Aug 22, 2025

आफ्नो हातबाट गलत काम भएको दिन राजनीतिमा देखा नपर्ने लेखकको भनाई : भिजिट भिसा प्रकरणमा आफ्नो नेतृत्वको कुनै संलग्नता नरहेको गृहको जिकिर

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १०

ललितपुर । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा केही दिनमा यसबारेमा आफूले विस्तृतमा बोल्ने बताएका छन् ।
धनुषा पुगेका गृहमन्त्री लेखकले जुन दिन आफ्नो हातबाट कुनै गलत काम हुन्छ, त्यो दिनदेखि आफू राजनीतिमा देखा नपर्ने र उठेका सबै विषयहरुलाई ठीक ढंगले जवाफ दिने बताएका हुन् ।

गृहमन्त्रीको संलग्नता भइरहेको चर्चाबीच कांग्रेसका इतर पक्षका नेता डा. शेखर कोइरालाले प्रश्न उठेपछि राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका छन् । यस्तै गृहमन्त्री लेखकमाथि प्रश्न उठेको विषयमा पार्टीमा औपचारिक छलफल नभएको नेता अर्जुनसिंह केसीले बताएका छन् । नेता केसीले प्रश्न उठेपछि वास्तविकता के हो, त्यसको सत्यतथ्य के हो खोतलेर सरकारले जनतासामु ल्याउनुपर्ने बताएका छन् । प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले गृहमन्त्रीमाथि प्रश्न उठेको विषयमा पार्टीले मनन गरिरहेको तर यसबारे अहिलेसम्म पार्टीमा छलफल नभएको जानकारी दिएका छन् ।

कर्मचारीले गरेका सबै गल्तीको जवाफदेहिता गृहमन्त्री हुन नसक्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेको तर्क छ । यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका कांग्रेस सांसद रामहरि खतिवडाको प्रश्न उठेपछि गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्ने भनाई छ ।
यसैबीच गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग आफ्नो नेतृत्वको कुनै संलग्नता नरहेको जिकिर गरेको छ । मन्त्रालयका सहसचिव छवि रिजालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता समाचारप्रति दुःख व्यक्त गरेका छन् ।

“यस्ता कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ, “साथै, विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनुहुन सबैमा अनुरोध गर्दछौँ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया