
जलेश्वर । संघीय गणतान्त्रिक गठबन्धनद्वारा आयोजित जनजागरण अभियान अन्तर्गत रैली तथा अन्तरक्रिया सभा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। शनिबार जिल्लाको समन्वय समितिको हलबाट सुरु भएको रैलीले नगर परिक्रमा गरी पुनः जिल्ला विकासको हलमा पुगेर अन्तरक्रिया र सभा सम्पन्न भएको हो ।
सभामा गठबन्धनका शीर्षस्थ नेताहरू, पार्टी अध्यक्ष, केन्द्रीय पदाधिकारी, नेता तथा हजारौं कार्यकर्ताको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई जीवन्त बनाएको थियो । सहभागी जनताले “एक मधेश, एक प्रदेश,” “मधेसी तथा उत्पीडित जनताको अधिकार सुनिश्चित गर,” “मदरसा विधेयक पारित गर,” “ओबिसी आयोग तथा निषाद आयोग गठन गर,” “पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर,” “उर्दु विश्वविद्यालय स्थापना गर,” “भ्रष्टाचारीहरूलाई कारबाही गर” जस्ता नाराहरू लगाउँदै आफ्नो माग र सङ्घर्ष प्रकट गरेका थिए ।
रैलीको समापनपछि आयोजित अन्तरक्रिया सभा नेपाल संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष मोहम्मद सैदरको अध्यक्षतामा सम्पन्न भयो । उद्घोषण बहुजन एकता पार्टीका नेता प्रकाश महराजीले गरेका थिए ।
सभामा प्रमुख अतिथिका रूपमा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वगृह राज्यमन्त्री गठबन्धनका संयोजक मो।रिजवान अन्सारी उपस्थित थिए । विशिष्ट अतिथिहरूमा पार्टीका केन्द्रीय अध्यक्ष, बहुजन एकता पार्टीका कार्यवाहक अध्यक्ष राजाराम पासवान, नेपाल सद्भावना पार्टीका रामकुमार महतो, नेपाल जनजागृति पार्टीका केन्द्रीय अध्यक्ष धुपलाल निषाद र मधेश प्रदेशका पूर्वगृह, कानुन तथा सञ्चार मन्त्री, प्रदेश सभा सदस्य बिमला अन्सारी लगायत उपस्थित थिए ।
कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीले उत्पीडित जनताको मुक्ति, समानता र सामाजिक न्यायको आन्दोलन, पहिचानको आन्दोलन, अधिकार सम्पन्न प्रदेशहरूको आन्दोलन र भ्रष्टाचारको अन्त्यका लागि आन्दोलन अझ सशक्त हुन आवश्यक रहेको बताएका थिए ।
‘राज्यको एकल जातीय चिन्तन, साम्प्रदायिक मानसिकता र निरंकुश शैली, साथै वर्तमान राजनीतिक नेतृत्वको अकर्मता र सत्तालिप्सा उत्पीडित जनता र मधेशी जनताको मुक्ति आन्दोलनमा बाधक बनेका छन् । अब यो आन्दोलनलाई इमान्दार राजनीतिक शक्तिहरूले पुनर्गठित गरी तेस्रो जनआन्दोलनको रूपमा अघि बढाउनु अनिवार्य छ,’ उनले भने ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक–कालापानी जस्ता राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयमा देशको पक्ष कडाइका साथ राख्नुपर्नेमा जोड दिए ।
२०७३ साल चैत ७ गते रौतहटको गौरमा घटित राजनीतिक विवाद र भिडन्तको छानबिन सम्बन्धमा सर्वोच्च अदालतले २ भाद्र २ गते प्रमादेश जारी गरेको छ । अन्सारीले भने, ‘छानबिन निष्पक्ष, पारदर्शी र कानुनसम्मत हुनुपर्छ। दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्छ। न्याय नपाएसम्म पीडितको पीडा शान्त हुने छैन। यदि यस घटनालाई राजनीतिक प्रतिशोधको माध्यम बनाइयो भने हाम्रो घोर विरोध हुनेछ ।’
कार्यक्रमका अन्य वक्ताहरूले मधेशी तथा उत्पीडित समुदायको हकहितमा सशक्त सन्देश दिए । बहुजन एकता पार्टीका कार्यवाहक अध्यक्ष राजाराम पासवानले भने, “यदि संघीय गणतान्त्रिक गठबन्धन मार्फत दलित, मुस्लिम, निषाद, पिछडा वर्ग र आर्थिक रूपमा पछि परेका समुदायहरू एकजुट भए भने सत्ताको हरेक स्तरमा हाम्रो उपस्थितिलाई सुनिश्चित गर्न सकिन्छ। अब दलित, मुस्लिम, महिलाहरू, निसाद र पिछडा वर्गले आफ्नो मुक्तिको लागि एकजुट भई संघर्ष गर्नुपर्ने बेला आएको छ ।”
नेपाल सद्भावना पार्टीका रामकुमार महतोले वर्तमान मधेशी नेतृत्वको असक्षम र अपारदर्शी चरित्रको आलोचना गर्दै भने, “मधेशी जनताले आफ्नो वास्तविक नेतृत्व रोज्नुपर्छ । कथित मधेशी नेताहरूले जनताको भरोसा तोडेका छन्, अब हामीले इमान्दार र समर्पित नेतृत्वको खोजी गर्नुपर्छ ।”
नेपाल जनजागृति पार्टीका अध्यक्ष ध्रुवलाल निषादले निषाद समुदायको समानुपातिक प्रतिनिधित्व र सामूहिक संघर्षको आवश्यकता औँल्याउँदै भने, “हामी सबै एकजुट भएर हातमा हात, काँधमा काँध मिलाएर अगाडि बढ्न आवश्यक छ ।’
मधेशका पूर्वगृह, सञ्चार तथा कानुनमन्त्री बिमला अन्सारीले मुस्लिम, दलित, निषाद र पिछडा वर्गलाई राज्यले सदैव पछाडि पारेको गुनासो गरिन् । उनले भनिन्, ‘अब न्याय र समानताको लागि आफ्नै नेतृत्व रोज्नु अनिवार्य छ ।’
यसरी, जलेश्वरमा सम्पन्न रैली तथा अन्तरक्रिया सभाले मधेशी तथा उत्पीडित समुदायको एकता, अधिकारको माग र भविष्यको दिशा तय गर्ने सन्देशलाई अझ बलियो बनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया