ललितपुर - ललितपुर – नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यको दुत्से दान अजिया गाउँमा हतियारधारी समूहको आक्रमणमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको स्थानीय प्रहरी र अधिकारीहरूले शनिबार एएफपीलाई बताएका छन् ।
जाम्फारा प्रहरीका प्रवक्ता याजिद अबुबकरका अनुसार आक्रमण बिहीबार रातिदेखि शुक्रबारसम्म दुर्गम गाउँमा भएको थियो र अहिले अवस्था सामान्यतर्फ फर्किएको छ ।
स्थानीय विधायक हामिसु फारुले भने ५० जनाभन्दा बढीको मृत्यु भएको आशङ्का व्यक्त गर्नुभएको छ । उहाँका अनुसार डाँकुहरू गान्दो जङ्गलबाट आएर गाउँलाई घेरा हाल्दै अन्धाधुन्ध गोली चलाएका थिए । भाग्न खोज्ने बासिन्दामाथि पनि आक्रमण गरिएको बताइएको छ ।
स्थानीय रूपमा ‘डाँकु’ भनिने सशस्त्र गिरोहहरू जाम्फारा, कात्सिना, कडुना, सोकोटो, केब्बी र नाइजर राज्यका जङ्गल क्षेत्रमा सक्रिय छन् र बेला–बेला गाउँहरूमा आक्रमण गर्ने गर्छन् ।
नाइजेरियाली सेना यी समूहविरुद्ध वर्षौंदेखि तैनाथ रहे पनि हिंसा जारी छ । पछिल्ला महिनाहरूमा जिहादी समूह र डाँकुहरूको बढ्दो हिंसाले अन्तर्राष्ट्रिय ध्यानसमेत तानेको छ ।
सन् २००९ यता बोको हराम र इस्लामिक स्टेट पश्चिम अफ्रिकी क्षेत्रसँग सम्बन्धित विद्रोहका कारण ४० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २० लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

बिजनेस पाटी