उदाउँदो सूर्यलाई अर्घ दिँदै यसवर्षको छठ सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक ११
|
969 views

ललितपुर - ललितपुर । मधेस लगायत देशका विभिन्न जिल्लामा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै यसवर्षको छठपर्व सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन आइतबार मध्यरातपूर्वदेखि निराहार व्रत बसेका बर्तालुले मंगलबार सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै यसपालिको छठ सम्पन्न गरेका हुन् । छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ । यसरी निर्जला व्रत आज बिहान सूर्योदयसँगै सम्पन्न गरिएको हो ।

आज बिहान मधेश प्रदेशमा ६ः१२ बजेको समयमा सूर्योदय हुने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गमा उल्लेख छ । तर देशभरका अधिकांश भेगमा आज बिहान झिसमिसेदेखि नै धुम्म बादल लाग्दा सूर्यदेव देखिन ढिलो भएको र कतै कतै त सूर्य देखिँदै नदेखिएको ब्रतालुहरु बताउँछन् । मिथिलामा सूर्योदयको टुङ्गो मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गर्ने गरिन्छ ।

काठमाडौ उपत्यका लगायत मिथिला क्षेत्रमा भने आज बिहान बादल लागेर मौसम सफा नहुँदा घाम देखिन बर्तालुले निकै बेर पर्खनुपरेको छ । घाम झुल्केको देखेपछि अघ्र्य दिएर बर्तालुले पर्व सम्पन्न गर्नु पर्नेमा यसवर्ष भने घाम झुल्कने समय पारेर सूर्यलाई अर्घदिँदै व्रत समापन गरे । अर्घदिनुपूर्व बर्तालु सूर्योदय हुनु एक घडीपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीनपटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गर्ने गर्छन् ।

तर, मधेशप्रदेशका कतिपय जिल्लामा र काठमाडौं उपत्यकामा भने मौसमका कारण यसवर्षको छठपर्वमा सूर्य देख्न सकिएन ।

पञ्चमीका दिन पनि दिनभरि निराहार उपवास बसेका बर्तालुले राति सक्खरमा पकाइएको खिरमात्र खाएका थिए । बर्तालुले ३० घण्टा बढीको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन् । सूर्यदेवलाई सप्तमीका दिन बिहान अघ्र्य दिएर व्रत सम्पन्न गरिने विधिलाई मिथिलाको बोलीचालीमा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।

छठ पर्वका अवसरमा संघीय सरकार र प्रदेश सरकारले सार्वजनिक बिदा दिँदै आएका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube