एक वर्षे मुद्दती निक्षेपमा २ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १७
|
1.3k views

ललितपुर - ललितपुर । नेपाल राष्ट्र बैंकले विभिन्न बैंकहरुमा एक वर्षे मुद्दती निक्षेपमा २ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ६० करोड बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो ।

केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूसँग ब्याजदरसहितको प्रस्ताव आह्वान गरेको छ ।

    राष्ट्र बैंकको सूचना अनुसार यो लगानी एक वर्ष अवधि (२०८२ मंसिर २४ देखि २०८३ मंसिर २४ सम्म) का लागि हुनेछ । कुल लगानी रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकहरुका लागि सबैभन्दा धेरै २ अर्ब ८ करोड, विकास बैंकमा ३९ करोड र वित्त कम्पनीमा १३ करोड रुपैयाँ छुट्याइएको छ ।

      मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्युनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पती केन्द्रिय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा÷निक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपने सर्त राष्ट्र बैंकको छ ।

      त्यसैगरी निक्षेप लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक वा सीईओ उक्त संस्थामा कायम नरहेको हुनुपर्ने र यदि कायम रहेको भए जरिबाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्ने, शिघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने सर्त समेत राष्ट्र बैंकले राखेको छ ।

      त्यसैगरी राष्ट्र बैंकको कारबाहीमा नपरेको हुनुपर्ने, यति परेको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी गरिसकेको हुनुपर्ने सर्त समेत केन्द्रीय बैंकले राखेको छ ।

      उक्त एक वर्षे मुद्दति राख्न चाहने बैंक वित्तीय संस्थाले असोज १० भित्रै राष्ट्र बैंकमा ब्याजदर प्रश्ताव पठाउन सूचनामार्फत भनिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube