२०८२ भाद्र ६ | Aug 22, 2025

एटीएममा नोटको अभाव, ६ वर्षदेखि छापिएका छैनन् एक हजार र पाँच सयका नोट

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १८

ललितपुर । लामो समयदेखि नेपाल राष्ट्र बैंकले एक हजार र पाँच सयका नयाँ नोट छाप्न नसक्दा यतिबेला नेपालका विभिन्न बैंकहरुका एटीएममा राख्न मिल्ने ‘फिट नोट’ को अभाव देखिएको छ । राष्ट्र बैंकले विगत ६ वर्षदेखि उक्त दरका नयाँ नोट छापेको छैन ।

यसअघि नेपाल राष्ट्र बैंकले २०७६ सालमा अन्तिम पटक एक हजार दरका ४० करोड र पाँच सय दरका १९ करोड थान नयाँ नोट छापेको थियो ।
२०७६ देखि हालसम्म बजारमा उक्त दरका नयाँ नोट नआउँदा अहिले ६ वर्ष पुराना, मैला नोटहरू एटीएममा राख्नुपर्ने बाध्यता आएको नेपाल बैंकर्स संघले जनाएको छ ।

यसरी बैंकहरुको एटीएममा पुरानो तथा फाटेका नोटहरु राख्दा अड्किने, च्यातिने, मेसिन बिग्रिने समस्या बढेको बैंकहरूको गुनासो रहेको छ । बैंकहरूले ग्राहकले फिर्ता ल्याएका नोटबाट सटिङ गरेर ‘एटीएम फिट नोट’ छुट्याउँछन्, तर राष्ट्र बैंकले समयमै नयाँ नोट नछाप्दा त्यसमा समस्या भइरहेको बैंकर्स संघले बताएको हो ।

राष्ट्र बैंकले उक्त दरका नयाँ नोट छपाई प्रक्रिया अगाडि बढाइसकेको छ । यसका लागि सम्पूर्ण प्रक्रिया पूरा भइसकेको र छिटै छपाईको काम सुरु हुने राष्ट्र बैंकले जानकारी गराएको छ ।
सम्भवत अगामी असोसम्म अर्थात् दशैं तिहार अगाडि नै उक्त दरका नयाँ नोट बजारमा आइसक्ने पनि राष्ट्र बैंकले जनाएको छ ।

यसअघि विभागले २०७६ असार १२ मा हजार दरका नोट छपाइका लागि बोलपत्र आह्वान गरी असोजमा चिनियाँ कम्पनीलाई जिम्मा दिएको थियो। विभागले हजार दरका ४० करोड थान नोट चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनसँग ९१ लाख ९० हजार अमेरिकी डलर उक्त समयको विदेशी मुद्रा सटही दरअनुसार नेपाली १ अर्ब ५ करोड रुपैयाँ खर्च गरेर छपाएको थियो।

२०७६ चैतमा १९ थान ५ सयदरको नोट छपाएको थियो। उक्त समय छपाइ गरिएका यी नोटहरु राष्ट्र बैंकले यसबीचको चाडपर्वमा सर्वसाधारणलाई सटही गरेको थियो भने अहिले पनि बैंक काउन्टर र एटिएमबाट पाइने हजार दरका नोट यही समय छपाइ भएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया