|
|
२०८२ पुष १
1.2k views
ललितपुर -
ललितपुर । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैङ्क (एडिबी) बाट प्राप्त हुने करिब रु १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यस्तै बैठकले पवनकुमार शारदा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको सिराहाको लहान नगरपालिकाको १–१५–१० विघा जग्गा तथा सोमा बनेको भवनसमेत रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालका नाममा हस्तान्तरण गर्दा लाग्ने लाभकर छुट दिने निर्णय गरेको छ ।
बैठकले यही पुस १२ देखि १४ गतेसम्म काठमाडौँमा सञ्चालन हुने नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको नवौँ बैठकमा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिको संयोजकत्वको प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।
मन्त्रिपरिषद्ले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि कृषि तथा पशुपछी विकास मन्त्रालयअन्तर्गत सञ्चालित सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाको लागि अधिकृतस्तरका आठ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । बैठकले युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको छ ।
यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, वंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका दुईजना महासेनानीको सहायक रथी र एकजना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने तथा छ जना उपरथी र सातजना महासेनानीको सरूवा गर्ने निर्णय गरेको छ ।

बिजनेस पाटी