एनआइसी एसिया बैंकको नाफा घट्यो

काठमाडौं ७ वैशाख २०८१

एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२.३१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेको र खराब कर्जा बढेका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.९५ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १३.५० प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ९.१७ प्रतिशत र सञ्चालन मुनाफा ३७.३१ प्रतिशत घटेको छ। सो अवधिमा बैंकको निष्क्रिय कर्जा ०.८५ प्रतिशतबाट ३.०८ प्रतिशत पुगेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १५ रुपैयाँ ४२ पैसा ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २९ रुपैयाँ १८ पैसा घटेर १७ रुपैयाँ १२ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.८५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ४७ पैसा रहेको छ।

गत वर्षको मुनाफाबाट २९ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १४ अर्ब ९१ करोड रुपैयाँ पुर्याएको यस बैंकको जगेडा कोषमा १५ अर्ब ७३ करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले ३ खर्ब २७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया