२०८२ आश्विन १६ | Oct 02, 2025

एनआईसी एशिया बैंक ऋणपत्र निष्काशन गर्दै

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १७
|
102 views

काडमाडौं । यही चैत २५ गतेदेखि एनआईसी एशिया बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ निष्काशन गर्न लागेको हो।

यसपटक बैंकले ६०–४० को हिसाबले ऋणपत्र निष्काशन गर्न लागेको हो । प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ । त्यस्तै ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

यसमा इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने समय २८ गते सम्म रहने छ ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले बैंकलाई आईआरएन इस्यूअर रेटिङ्ग ट्रिपल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको संकेत गर्दछ। सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया