
ललितपुर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ ।
नेपाल क्रिकेट सङ्घले आज एक प्रेस विज्ञप्ति मार्फत प्रतियोगिता आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुने जानकारी दिएको हो । प्रतियोगिता लागि खेलाडीको मिनी अक्सन यसअघि नै सम्पन्न भइसकेको छ ।
गत वर्ष मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना भएको पहिलो संस्करणको एनपिएल सफल भएसँगै दोस्रो संस्करणमा धेरैको ध्यान आकर्षित भएको छ । एनपिएलमा हाल आठ वटा टोली छन् । जसमा विराटनगर किङ्ग्स, जनकपुर बोल्टस्, चितवन राइनोज, काठमाडौँ गुर्खान, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, सुदुरपश्चिम रोयल्स र कर्णाली याक्स छन् ।
एनपिएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्टस्ले जितेको थियो । एनपिएलको दोस्रो संस्करणको तयारी स्वरुप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नति भइरहेको छ । हाल प्याराफिट निर्माण भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया