
काठमाडौँ । नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पताललाई काठमाडौँ महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना तिराउने भएको छ । अस्पताललाई महानगरले जरिवानास्वरुप ५० हजार रुपैयाँ तिर्न भनी पत्राचार गरेको हो ।
अस्पतालबाट निस्कने फोहर व्यवस्थापनको अनुगमनका क्रममा हानिकारक फोहरको उचित व्यवस्थापन गर्न महानगरपालिकाले पटक पटक सुझाएको थियो । तर, अस्पतालले यो सुधारको मौकालाई वेवास्ता गरेपछि महानगरले जरिवानास्वरुप रकम तिर्न भनी पत्र पठाएको हो । काठमाडौँ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७ बमोजिम जरिवानाको पत्र पठाएको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिइन् ।
वातावरण तथा प्राकृतिक स्रोत ऐनबमोजिम रसायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला, जोखिमपूर्ण फोहरमैला वा हानिकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ ।
यस्ता खालका कसुर पुनः दोहोर्याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ ।
पछिल्लो पटक काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि अग्रणी भूमिका खेल्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया