
ललितपुर - ललितपुरको लेलेस्थित ‘ओमकार आयल इन्डस्ट्रिजका सञ्चालक विजय श्रेष्ठ पक्राउ परेका छन् । छहारी’ र ओमकार’ ब्रान्डका सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखेर उपभोक्तालाई ठगी गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त उद्योगले उत्पादन गर्ने सूर्यमुखी तेलको प्याकेटमा उल्लेख गरिएको तौलभन्दा कम मात्रा राखेर बजारमा बिक्री भइरहेको सूचना प्राप्त भएपछि उद्योगमा छापा मारिएको थियो ।
गोदावरी नगरपालिका–५ स्थित उद्योगमा गरिएको अनुसन्धानका क्रममा प्याकेटमा उल्लेख गरिएको तौल र वास्तविक तेलको मात्रामा फरक पाइएपछि सञ्चालक श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उद्योगबाट बिक्रीका लागि तयारी अवस्थामा रहेका ९०५ कार्टुन सूर्यमुखी तेल पनि बरामद गरेको छ ।
पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ। उनीमाथि नापतौल तथा उपभोक्ता ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिजनेस पाटी











