ओलीले आयोगलाई दिए लिखित बयान : भदौ २४ मा सेना परिचालन गर्न चाहेर पनि सम्भव भएन

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २१
|
1.3k views

ललितपुर - ललितपुर । तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोगलाई लिखित बयान दिएका छन् । बयानमा उनले गत २४ भदौको अवस्था नियन्त्रणमा लिन आफूले सेना परिचालन गर्न चाहेर पनि सुरक्षा निकायबाट भरपर्दो सहयोग नपाएपछि त्यो सम्भवन नभएको बताएका छन् ।

गत भदौ २३ र २४ भदौको घटना सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगलाई आइतबार लिखित बयान दिने क्रममा अलीले आफूले सुरक्षा निकायबाट भरपर्दो सहयोग नपाएकै कारण यति ठूलो क्षति हुन पुगेको उल्लेख गरेका छन् ।

यसअघि पनि पटक पटक सार्वजनिक रुपमा बिनाकुनै योजना एकै पटक र कम समयमा यत्रो क्षति पुर्‍याउन सम्भव नहुने र त्यो योजनाबद्ध घटना भएको दाबी गर्दै आएका ओलीले आफूले सुरक्षा निकायबाट भरपर्दो सहयोग नपाएको बयानमा उल्लेख गरेका छन् । गत भदौ २४ को अवस्था नियन्त्रणमा लिन मैले नेपाली सेना परिचालन गर्न चाहेको थिएँ, तर त्यो सम्भव भएन,’ उनले लिखित बयानमा भनेका छन् ।

ओलीले आयोगलाई पेश गरेको लिखित बयानमा गत भदौ २४ मा आफूमाथि नियोजित रूपमा आक्रमणको प्रयास भएको उल्लेख गर्दै आफूमाथि बालुवाटारमै प्रवेश गरेर जसरी आक्रमण गरियो, त्यसले उक्त दिन आफ्नो हत्या पनि हुन सक्ने अवस्था भएको दाबी गरेका छन् ।

यसअघि एकातिर पटक पटक तत्कालीन प्रधानमन्त्री ओलीले बरु आफू मर्न तयार रहेको तर सिंहदरबारमा पुगेर बयान नदिने अडान सार्वजनिक रूपमै व्यक्त गर्दै आएका थिए भने अर्कातिर आयोगका पदाधिकारीले पनि तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीको बयान लिएरै छाड्ने अडानमा थिए । दुवै पक्षको अडानका बीचमा सरकारले मध्यस्थता गरी ‘मध्यमार्गी उपाय’ निकालेपछि आलीले लिखित जवाफ पेस र आयोगले त्यसलाई स्वीकार गर्ने सहमति भएको थियो । सोही अनुरुप आयोग टोली आइतबार पत्र लिएर ओली निवास गुण्डु पुगेको थियो । त्यसपश्चात् ओलीले यसअघिनै तयार पारेको लिखित जवाफको पत्र आयोग टोलीलाई थमाएका थिए ।

तत्कालीन प्रधानमन्त्रीका हैरियतले ओलीले आफ्नो लिखित बयानमा २२ देखि २४ भदौसम्मका घटना र आयोग अध्यक्ष गौरीबहादुर कार्कीको धारणा यसअघि नै सार्वजनिक भएको प्रसंगसमेत अटाएका छन् । आयोगका एक सदस्यका अनुसार ओलीले सामाजिक सञ्जाल बन्द गर्नुको कारणमा सर्वोच्च अदालतले फैसला गरिसकेको विषय भएको र देशभित्र विदेशी कम्पनीहरूले कर नतिर्नेदेखि नियमनसम्म नगरी चलाउने गरेकाले त्यसो गर्न हुने असल मनसाय रहेको उल्लेख गरेका छन् ।

गत भदौ २४ गतेका लागि युवाहरूले काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गर्ने भनी अनुमति लिएको तर त्यसमा घुसपैठ भएकाले आन्दोलनमा केही अराजक समूह प्रवेश गरी नयाँ बानेश्वर पुगेर संसद् भवन तोडफोड गर्ने काममा संलग्न भएपछि त्यो अवस्थाको सृजना भएको ओलीलले उल्लेख गरेका छन् । उनले आन्दोलन गर्नेहरू अधिकांश जेन–जी उमेरका नभएको तत्कालीन समयका फोटो र भिडियोहरूमा प्रस्ट देखिने दाबी गरेका छन् ।

२२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने र त्यसमा बल प्रयोग नगरी युवा र विद्यार्थीलाई सहयोग गर्ने छलफल भएको ओलीको लिखित जवाफमा उल्लेख छ । २३ भदौमा तोडफोड गरिनुका साथै एक्कासि गोली प्रहार हुन थालेपछि आफूले तत्कालीन गृहमन्त्री रमेश लेखकसहित सबै सुरक्षा निकायका प्रमुखहरूको बैठक बोलाएर छलफल गरेको र छानबिन समिति गठनको समेत निर्णय भएको उनको जवाफ छ । त्यसपछि २३ भदौको बेलुका मन्त्रिपरिषद् बैठकबाट घटनाका विषयमा छानबिन गर्न आयोग बनाउने निर्णय समेत गरेको ओलीले लिखित जवाफ मार्फत् बताएका छन् ।

उनले आन्दोलनमा देशभित्रका शक्तिको मात्र हात नभएको अहिले पुष्टि हुँदै आएको दाबी गरेका छन् । ‘सरकार गठनदेखि विभिन्न काममा अहिले जसरी भूराजनीतिक खेल भएका छन्, त्यसले यो आन्दोलनमा घुसपैठ भएको पुष्टि गर्ने’ उनले उल्लेख गरेका छन् । उनले गत भदौ २४ गते केही अराजक समूहहरूले योजबद्ध रुपमा संसद् भवन, सर्वोच्च अदालत, प्रधानमन्त्री निवास, राष्ट्रपति भवनदेखि व्यक्तिगत सम्पत्तिमा समेत क्षति पुर्‍याएको बताएका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube