२०८२ भाद्र ६ | Aug 22, 2025

कक्षा १२ को परीक्षामा ७३ वर्षीया वृद्धा सहित १२ जना कैदी पनि

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २१

काठमाडौँ । आजदेखि सुरु भएको माध्यामिक विद्यालय तहको कक्षा १२ को यसवर्षको वार्षिक परीक्षामा काठमाडौंबाट ७३ वर्षीय वृद्धा सहित १२ जना कैदी सामेल भएका छन् । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
परीक्षा दिनेमा १५ चैतमा भएको राजावादी प्रदर्शनमा भाटभटेनी सुपरमार्केटमा लुटपाट गरेको आरोपमा पक्राउ परेका सिराहाका १९ वर्षीय दिनेश महतोदेखि अन्य मुद्दाका ११ अभियुक्तहरु छन् । यस्तै चोरी आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका दावा शेर्पाले भने काठमाडौं प्रहरी परिसरबाट परीक्षा दिइरहेका छन् । उनीहरुको परीक्षाका लागि प्रहरीले केन्द्राध्यक्ष नै बोलाएर छुट्टै गार्ड र बेञ्चको व्यवस्था गरेको थियो ।
अदालतबाट मुद्दा छिनोफानो भएर वा पुर्पक्षका लागि थुनामा रहेकाहरुलाई समेत अध्ययन गर्न चाहे कारागारबाट समेत पढ्न पाउने व्यवस्था गरिएको छ । काठमाडौंको केन्द्रीय कारागारमा कैदीबन्दीहरुका लागि छुट्टै स्कुल समेत छ ।
आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा देशभर एक हजार ५९० र जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जानकारी दिएको छ । यसवर्ष सबैभन्दा बढी काठमाडौँमा १६२ र मनाङ–मुस्ताङ जिल्लामा एक–एक केन्द्र निर्धारण गरिएको छ । परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी छन् ।
यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ ।
यसैबीच, काठमाडौँ तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा केन्द्रबाट ७३ वर्षीय सूर्यवती खनालले परीक्षा दिएकी छिन् । उनी तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी हुन् ।
प्रवेशपत्रमा उनको जन्म विसं २००९ साउन ९ गते उल्लेख छ । चार छोराछोरीका आमा तथा तीन जना नातिनातिनाका हजुरआमा खनालले छोराछोरी हुर्किएका र पढ्न रहर भएपछि विद्यालय भर्ना भई नियमित पढाइ अगाडि बढाएकी उनले एसइई परीक्षा भने गोगङ्बुस्थित चेतना महिला माध्यामिक विद्यालयबाट उर्तीण गरेकी हुने । उनका श्रीमान विद्यालयका शिक्षक छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया