ललितपुर - ललितपुर । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्ने निर्णय गरेका दुई हात्ती खगेन्द्रप्रसाद र रूद्रकलीलाई आज चितवनबाट बिदाइ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका यी दुबै हात्तीलाई सोमबार एक विशेष समारोहकाबीच बासस्थानबाट बिदाइ गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
यी दुवैलाई चितवन राष्ट्रिय निकुञ्जबाट ट्रकमा राखेर भैरहवा अन्तरराष्ट्रिय विमानस्थलमा पुर्याइने र त्यहाँबाट बुधबार अर्थात् आगामी पुष २ गते कतार यएरवेजको चार्टर फ्लाइटबाट सिधैँ कतार लगिने तयारी रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
खगेन्द्रप्रसाद र रूद्रकली नामका यी दुई हात्तीलाई आवश्यक पर्ने हावापानी अनुकूलता र ढुवानी समेतलाई मध्यनजर गरी हात्तीलाई भैरहवाबाट हस्तान्तरण गर्न लागिएको हो । आगामी पुस २ गते बिहान भैरहवामा नेपाल सरकारले कतार सरकारलाई औपचारिक रूपमा हात्ती हस्तान्तरण गर्ने जनाएको छ । नेपालले अन्य विभिन्न मुलुकलाई गैँडा उपहार दिँदै आएको भए पनि यसरी हात्ती उपहार भने पहिलोपटक दिँदैछ ।
यसअघि विसं २०८१ साल वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको औपचारिक भ्रमणका बेला नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने औपचारिक घोषणा गरिएको थियो । नेपालले साइटिसलगायतका प्रक्रिया पूरा गरी २०८१ साल कात्तिक २ गते मन्त्रिपरिषद्बाट एक जोडी हात्ती उपहारस्वरूप प्रदान गर्ने निर्णय गरेको थियो ।

बिजनेस पाटी