
काठमाडौँ । शाकाहार र अहिंसामार्फत दिगो जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यसहित काठमाडौँमा तीन दिने अहिंसा महोत्सव नेपाल हुने भएको छ। नेपाल शाकाहारी संघको आयोजनामा हुने यो महोत्सव आगामी भदौ १२ गतेदेखि १४ गतेसम्म नेपाल प्रहरी क्लब, प्रदर्शनीमार्ग भृकुटीमण्डपमा आयोजना हुनेछ।
आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यस वर्षको महोत्सव ‘करुणाले जोड्छ’ भन्ने मूल नारामा केन्द्रित हुनेछ।
महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। यसले पशुप्रेम, मानव स्वास्थ्य, वातावरण संरक्षण र शुद्ध शाकाहारी (भिगन) जीवनशैलीलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ। आयोजकका अनुसार, कार्यक्रममा ५० हजारभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ।
प्रमुख आकर्षण
- दिगो जीवनशैली र पशु अधिकारसम्बन्धी अन्तरक्रिया
- भरतनाट्यम नृत्य तथा विभिन्न सांगीतिक प्रस्तुति
- योग तथा ध्यान सत्र
- अन्तर्राष्ट्रिय वक्तासँग प्रत्यक्ष संवाद र अनुभव आदानप्रदान
- शाकाहारी परिकार चाख्ने अवसर तथा पकाउने विधि प्रदर्शन
- विशेष रात्रिभोज कार्यक्रम
महोत्सवमा ६० भन्दा बढी शाकाहारी उत्पादनका स्टल, ४० भन्दा बढी वक्ता र २० भन्दा बढी संस्था सहभागी हुनेछन्। केही स्टलमा निःशुल्क रूपमा भेगन खानाको स्वाद लिने अवसर पनि उपलब्ध हुनेछ।
नेपाल शाकाहारी संघले यसअघि सन् २०१७ (२०७४ साल) मा काठमाडौँमा आठौँ एसिया–प्यासिफिक भेजिटेरियन कांग्रेस (APVC) ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितासहित आयोजना गरेको थियो।
यस वर्षको अहिंसा महोत्सवमा काठमाडौँ एनिमल सेभ मुभमेन्ट, समस्त महाजन, श्रीकृष्ण प्रणामी समाज र वल्र्ड भिजन अर्गनाइजेसन सह–आयोजकका रूपमा रहेका छन्। प्रमुख प्रायोजकमा वल्र्ड भेगन भिजन र म्याजिक मार्बल फाउन्डेसन रहेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया