२०८२ फाल्गुन ६ | Feb 18, 2026

कर्णालीका ३ स्वास्थ्य संस्थाको लागि ३ करोड बजेट दिने सरकारको निर्णय

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २४
|
1.4k views

ललितपुर । कर्णाली प्रदेश सरकारले प्रदेशका तीनवटा महत्वपूर्ण स्वास्थ्य संस्थाको लागि तीन करोड बजेट व्यवस्थापन गर्ने महत्वपूर्ण निर्णय गरेको छ ।

आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले दैलेख, सुर्खेत र जुम्लाका तीनवटा स्वास्थ्य संस्था सुदृढीकरणका लागि बजेट व्यवस्थापन गर्न लागेको हो ।

प्रादेशिक अस्पताल नभएका सङ्घीय निर्वाचन क्षेत्रमा रहेका एक–एक स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी दिइएको हो ।

सुर्खेतको सालकोट अस्पतालको लागि पंचपुरी नगरपालिकालाई १ करोड, दैलेखको दुल्लु अस्पतालको लागि दुल्लु नगरपालिकालाई एक करोड र जुम्लाको कालिका खेतु प्राथमिक स्वास्थ्य चौकीका लागि हिमा गाउँपालिकालाई एक करोड बजेटको व्यवस्था गर्ने निर्णय गरिएको छ ।

त्यस्तै आजको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, प्रादेशिक आयोजना व्यवस्थापन इकाइ सुर्खेत र ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाइ, सुर्खेतको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने अर्को निर्णय पनि गरेको छ ।

विहीबार बसेको बैठकले इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखको अधुरो भवन निर्माणको लागि ६० लाख सम्बन्धित इलाका प्रहरी कार्यालयमा अख्तियारी प्रदान गर्न नेपाल सरकार, गृह मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृति माग गर्ने निर्णय समेत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया