२०८२ फाल्गुन ६ | Feb 18, 2026

कर प्रशासनलाई जनमैत्री बनाउन पहल गरिनेछः निर्देशक पौडेल

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ५
|
255 views

टक्सार (भोजपुर)  आन्तरिक राजस्व विभागका निर्देशक वासुदेव पौडेलले करदाता सेवाग्राहीले करसँग डराउनु नपर्ने बताउनुभएको छ । करसम्बन्धी प्रचलित नियम कानुन र बुझ्नुपर्ने कुरा बुझिएमा केही समस्या नहुने उहाँले उल्लेख गर्नुभयो । आन्तरिक राजस्व विभाग र करदाता सेवा कार्यालय भोजपुरले आज जिल्ला सदरमुकाममा आयोजना गरेको कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा निर्देशक पौडेलले चाहिँदामात्र व्यवसाय दर्ता गर्न आग्रह गर्दै अनावश्यक भएका व्यवसाय समयमा निवेदन दिएर बन्द गर्न सकिएमा अनावश्यक करबाट जोगिन सकिने बताउनुभयो । राज्यले जिल्ला जिल्लामा करदाता सेवा कार्यालय खोलेको उल्लेख गर्दै निर्देशक पौडेलले भन्नुभयो, “तोकिएको समयमा कर विवरण बुझाउँदै समयमा व्यवसायीहरुले कर दाखिला गर्नुपर्छ ।” निर्देशक पौडेलले करदाताको सुझावलाई गम्भीरतापूर्वक लिइने र आगामी दिनमा कर प्रशासनलाई अझ जनमैत्री बनाउन पहल गरिने बताउनुभयो । उद्योग वणिज्य सङ्घ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले करसेवा प्रणालीलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।

करदाताले सेवा प्रक्रियामा पारदर्शिता, सहजता र आधुनिक प्रविधिको प्रयोग बढाउन तथा कर व्यवसायी मैत्री हुनुपर्नेमा अध्यक्ष मोक्तानको जोड थियो । उहाँले सबैले करसम्बन्धी प्रचलित नियम, कानुन बुझ्नुपर्ने पनि धारणा राख्नुभयो । उद्योग वाणिज्य सङ्घको समन्वयमा आयोजित कार्यक्रममा करदाता सेवा कार्यालय भोजपुरले गरेका कार्यका बारेमा सेवा कार्यालयका प्रमुख शशि शाहले सहभागीलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा आर्थिक विधेयक २०८२ले ल्याएको छुट तथा सहुलियतबारे आन्तरिक राजस्व विभागको जानकारी दिएको थियो । कार्यक्रममा सहभागी करदाताले कर प्रशासनसँग जोडिएका विभिन्न विषयमा जिज्ञासा राख्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया