कर बढाउने विधेयक पारित भएपछि केन्याको संसद्‌मा तोडफोड, पाँच जनाको मृत्यु

एजेन्सी १२ असार २०८१

केन्याको राजधानी नैरोबीमा आक्रोशित नागरिकहरूले संसद् भवनमै प्रवेश गरेर आगजनी र तोडफोड गरेका छन् ।

नयाँ वित्त विधेयकको विरोधमा मंगलबार हजारौं प्रदर्शनकारीहरूले संसद् भवन प्रवेश गरेर आगजनी र तोडफोड गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रदर्शनकारीहरूले संसद् भवनमै पुगेर तोडफोड गर्न थालेपछि त्यहाँबाट सांसदहरू भागेका थिए ।

उनीहरूलाई नियन्त्रणमा लिन भने प्रहरीले बल प्रयोग गरेको बीबीसीले जनाएको छ । विरोध प्रदर्शनमा प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार भिडलाई नियन्त्रण गर्न भन्दै प्रहरीले गोली चलाउँदा कम्तिमा ५ जनाको मृत्यु भएको हो ।

चर्को विरोधका बाबजुद मंगलबार उक्त विधेयक संसदबाट पारित भएको थियो । नयाँ ऐन पारित भएसँगै नागरिकका लागि कर बढ्नेछ ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्टमा केन्या सरकारले कर वृद्धिबाट २२ हजार ५२१ करोड रुपैयाँ थप राजस्व पाउने उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया