कविता : आजभोलि

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ९
|
1.5k views

ललितपुर - आजभोलि यस्तै छ चलन, विकृति छ घरदेखि दलान ।
जता पनि आजभोलि के भएको उल्का
जस्को पाप उस्को फाप पानीजस्तै फुल्का
नेपाल र नेपालीको भलो गर्न भनी
भाषण गर्न अघि सार्ने नेताहरू पनि
मान पद पाएपछि मुन्टो लुकाउने
विकासको कुरा गर्दै जन्ता छकाउने
यो पार्टी र ऊ पार्टीले भन्दाभन्दै दिन
हामीहरू बन्दै गयौँ गरीब दिनहीन ।।१।।

पद पाए विकासको मुल फुटाउने भन्छन्
पदबाट हटेपछि सक्दो विरोध गर्छन्
बिरालो र मुसोको खेल नेताहरू गर्ने
कैले होला नेपाललाई विकासले भर्ने
कारखाना उद्योगले चन्दा दिँदै ठिक्क
सधैँभरी मूल्य बढ्छ जनताहरू दिक्क
विदेशबाट ऋण लियो विकास गर्न भनी
नेताहरू जम्म गर्छन् मौका यही हो भनी ।।२।।

    जनताको मारामार पार्टी पार्टी भनी
    विकासको सच्चा काम छैन कतै पनि
    घरघर झगढा छ पार्टी पार्टी बीच
    युद्ध क्षेत्र बन्न गयो गाउँघर नि त ।
    ठूलो स्वर बोल्न सके सबै कुरा हुन्छ
    सच्चा काम सच्चा कुरा विषय जस्तै बन्छ ।।३।।

    दूध बेची रक्सी खाने बेला यहाँ आयो
    हल्लाखल्ला गर्न सक्ने ठूलो नेता भयो
    अरुलाई गालीगलौज आफू असल भन्ने
    आफू मात्र जान्ने सुन्ने आफैँ सफल जान्ने ।
    छेडछाड दाउपेज गर्ने मात्र नेता
    सबैलाई धन कमाउने लागि रे’छ बेथा ।
    जनताको हित हैन, हित नेताकै छ ।
    बूढो गोरु व्याउने बेला नेतालाई नै भा’छ । ।।४।।

    बाघचाल खेलझैँ छ मन्त्रीमण्डल यहाँ
    जस्ले सक्छ कमाउने बेलाझैँ छ यहाँ ।
    सिपालु छन् नोट दिई भोट लिन नेता
    भोट पाए नोट कमाउने परिश्रम के छ ?
    जनतालाई झुक्याउन सिपालु छन् नेता
    जागिरझैँ ठान्न थाले अबदेखि यता
    राम्रा क्वाटर नयाँ मोटर नेतालाई चाइने ।
    विकासको बजेट बोकी विदेशतिर धाउने
    गरीबीको उन्मुलनमा मागी ऋण ल्याउने
    जन्मैदेखि ऋणको भार नेपालीले पाउने ।।५।।

      खान लाउन द्यौ–द्यौ प¥यो अब कसो गर्ने
      विदेशीको ऋण तिर्ने कि अब त्यसै मर्ने
      दिगो विकास केही छैन मनपरी तन्त्र
      जतासुकै खासखुस धन कमाउने मन्त्र
      एउटा पार्टी मन्त्री मण्डल गठन गर्छ यहाँ
      सबै नयाँ नीति ल्याउने विकास गर्न महाँ
      नीति नियम बन्दा बन्दै सरकार पतन हुन्छ
      अर्को पार्टी सरकार हुँदा अर्कै नियम बन्छ
      व्यवहार चलाउन द्यौ–द्यौ पर्न गयो
      नेपालीको दिन हरे अझ दुःखी भयो
      प्रोत्साहन उद्योगमा चाहे जति छैन
      उद्योगीले काम गर्न ढुक्क पाउने होइन
      उद्योगीको दिन बित्छ चन्दा दिँदै यहाँ
      नत्र भने उद्योग नै पुथ्यो कहाँ–कहाँ
      नाफालाई दोब्बर पार्ने उद्योगीको दाउ ।
      भाउ वृद्धि गराएर लाउने जुँगा ताउ ।।६।।

      नेताहरू उद्योगीलाई चन्दा माग्न धाउने
      भाउ वृद्धि नगरे त पैसा कहाँ पाउने ?
      जनताको चिन्ता छैन बढी आफ्नै चिन्ता
      बन्दै गए आक्रोशित नेतादेखि जनता
      नेताहरू बोल्छन् मात्र मीठामीठा कुरा
      मुखले मात्र काम गर्ने छैन केही पूरा
      जनताको हित निम्ति केही हुने हैन
      घ्याम्पे भुँडी बोक्ने नेता कहिल्ये पुग्ने छैन
      चुनावमा भोट माग्न गाउँगाउँ धाउने
      विकासको हल्ला फिँजाई जनता झुक्याउने ।।७।।

      चुनावमा चिते भने शहरको किरो
      चुनावमा हारे भने दुई नम्बरी हिरो
      ढ्वाङ फुक्छन् नेताहरू विकास गर्ने भनी
      विदेशीको ऋणमा गर्छन् मोज मस्ती पनि
      सावा ब्याज नेपालीलाई जन्मेदेखि ऋण
      भ्रष्टाचार ऋणमा हुन्छ नियम छैन किन ?
      खेती गर्ने किसानको वेथा अर्कै फेरि
      किसानको ढाड सेकाउँछ मल बिउले फेरि
      पाइँदैन समयमा मल विऊ यहाँ ।
      किसानले बस्नुपर्छ व्यापारीको हातमा ।
      विदेशबाट मल ल्याउँदा किसानको नाउँ
      खाउ खाउ तस्कर हो, हामी सबलाई खाऊ । ।।८।।

      नेता डाक्टर, इन्जिनियर सबलाई पाल्ने किसान ।
      किसानलाई बनाउँछन् सबै मिलि निसान ।
      मल विऊ औषधीले ढाड भाँची सक्यो ।
      किसान पनि औधी हुँदा काम गर्दै थाक्यो
      जसका हातमा ठुला छैन ऊ जे.टी.ए. बन्ने
      काम छैन तातोछारो मुखले मात्रै भन्ने ।
      कागजमा फर्माउने विकासको कुरा ।
      हेर्दा भने कतै छैन काम यहाँँ पूरा ।
      नेपालीको बानी भयो कुरा मात्रै गर्ने
      काम भने कति छैन भूँडी मात्रै भर्ने ? ।।९।।

      (कवि सिलवाल नमोबुद्ध नगरपालिका वडा नंं ४, काभ्रे निवासी हुनुहुन्छ । उहाँका ‘मेरो कल्पना’ कवितासङ्ग्रह वि.सं. २०२८, मनैभरि माया– गीतिसङ्ग्रह २०५८, र तिमी र साथी–बाल कवितासङ्ग्रह २०७३) कृतिहरू प्रकाशित छन् । उहाँका लेखरचना विभिन्न पत्रपत्रिकाहरूमा समेत प्रकाशित छन् । उहाँ लेखनका अतिरिक्त ४० वर्ष शिक्षण पेशा गरी हाल अवकास प्राप्त जीवन व्यतीत गरिरहनु भएको छ । – सम्पादक )

       पात्रो/राशिफल  रेडियो YouTube