कविता: त्यो छाता

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ९
|
2.5k views

ललितपुर - रुपा रिसाल

सभ्यता सुयोग्य राष्ट्रको शोभनीय 

    पहेँलो गेरु कृष्णजीका वस्त्र झैँ

    शान्त सुरम्य, शीतल सन्देश बोक्दै 

    घामपानी हुरी ढाकेर छतओत लाग्ने 

    दनदनी अग्नि, आँधीले गलित धर्ती

    सम्पदा, संस्कार र संस्कृति जोगाउने

    दैवी शक्तिले प्रभातकालीन आकाशझैँ 

    अलौकिक अजर अमर त्यो छाता ।

    गहिराइभित्र डुबुल्की मार्न खप्पिस

    श्रद्धेय महापुरुषको नामसँग जोडिएको

    रूपान्तरित सन्त नेताका भूमिकामा

    सुनौलो अक्षरले इतिहासका पानामा

    विशिष्ट चारित्रिक निर्माण र पहिचान 

      उतार्न सफल बिलकुल एक्लो ध्रुव तारा

      उदाउँदा सूर्यलाई पनि ईर्ष्या लाग्दो हो 

      उषा काल पर्खिरहे धैर्यवान् योगी बनी

      दरबार त्याग गर्दा बोकेको त्यो छाता ।

      उच्छृङ्खल नाटक जीवनशैलीका तमासा

      झुटा आश्वासनका साथ थिएटरमा मञ्चन

      देखावटी रङ्ग रङ्गिला बाटैको रमितेसँग

      निस्पट्ट अँध्यारोमा लहडिने बथानले बुझुन्

      शक्ति, सत्तामा धमिल्याउने धोकेबाजसँग

      सदा रुष्ट छ त्यो दुर्लभ व्यक्तिको छाता

      आफ्नै स्वार्थ सिद्धका लागि होमिने

      ऐरे, गैरे, खैरेको बदल्ने छेपारे रुपी रङ्गमा

      भ्रातृत्वको प्रतीक बनेर पापहरू छोपिदिन्छ

      उदार उदाहरणीय बन्दै छ किशुनजीको छाता ।

       पात्रो/राशिफल  रेडियो YouTube