२०८२ आश्विन १६ | Oct 02, 2025

कश्मीर आक्रमणपछि भारत कडा रुपमा प्रस्तुत : पाकिस्तानसँगको कूटनीतिक सम्बन्ध स्थगित

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ११
|
153 views

काठमाडौ । भारतले जम्मु–कश्मीरमा सर्वसाधारणमाथि भएको जघन्य आक्रमणपछि पाकिस्तानसँगको कुटनीतिक सम्बन्ध स्थगित गरेको छ । भारतले पाकिस्तानले सिमापार आतंकवादलाई समर्थन गरेको आरोप पाकिस्तानमाथि लगाउँदै हिजो विभिन्न कडा कूटनीतिक कदमहरू सार्वजनिक गरेको हो ।

भारतका विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलन गरी भारतले सन् १९६० मा गरिएको (इन्डस जल सम्झौता) तत्काल स्थगित गर्ने निर्णय गरेको सार्वजनिक गरेका छन् । उनले भने, “जबसम्म पाकिस्तानले सिमा–पार आतङ्कवादप्रति समर्थन परित्याग गर्दैन, तबसम्म यो सम्झौता स्थगित रहिरहनेछ।”

इन्डस जल सम्झौताले भारत र पाकिस्तानलाई तीन–तीन वटा हिमाली नदीहरूको अधिकार प्रदान गर्दै जल उपयोग तथा सिँचाइका लागि व्यवस्था मिलाएको थियो। सम्झौता कार्यान्वयन गर्न इन्डस आयोग पनि स्थापना गरिएको थियो, जसले उत्पन्न हुने समस्याहरू समाधान गर्ने जिम्मेवारी लिएको थियो।

यस्तै, भारतले पाकिस्तानसँगको मुख्य स्थल सीमा अटारी–वाघा नाका तत्काल बन्द गर्ने निर्णय गरेको छ। यद्यपि, वैध यात्रा कागजात भएका व्यक्तिहरूलाई मे १ अगाडि फर्किन भनिएको छ । अटारी–वाघा नाका प्रतीकात्मक रूपमा निकै महत्वपूर्ण मानिन्छ, जहाँ हरेक साँझ भारत–पाकिस्तानका सैनिकहरूबीच हुने परेडले दुई देशबीचको प्रतिस्पर्धा दर्शाउँछ ।

त्यसैगरी भारतले नयाँ दिल्लीस्थित पाकिस्तान दूतावासका रक्षा सल्लाहकार र अन्य सैन्य अधिकारीहरूलाई एक साताभित्र भारत छोड्न निर्देशन दिइसकेको छ भने भारतले पाकिस्तानमा रहेका आफ्ना रक्षा, नौसेना र वायुसेना सल्लाहकारहरूलाई पनि फिर्ता बोलाउने निर्णय गरेको छ।

कश्मीरको मुस्लिम बहुल क्षेत्रमा मंगलबार भएको आक्रमणमा एक नेपाली सहित २८ जनाको ज्यान गएको थियो । घटनाको जिम्मा हालसम्म कुनै पनि समूहले लिएको छैन। सन् १९८९ यता विद्रोहीहरूले कश्मीरमा भारतविरुद्ध स्वतन्त्रता वा पाकिस्तानसँगको मिलनको माग गर्दै आन्दोलन गरिरहेका छन्।

यस घटनाले भारत–पाकिस्तान बीचको सम्बन्धमा दुरी बढाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया