२०८२ आश्विन १६ | Oct 02, 2025

काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७६ करोड बराबरको बजेट ल्यायो

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २९
|
102 views

ललितपुर । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले रु २५ अर्ब ७६ करोड ४३ लाख बराबरको बजेट ल्याएको छ ।

महानगरका उपप्रमुख सुनिता डङ्गोलले आज काठमाडौँ महानगरपालिका नगरसभाको १७औँ अधिवेशनमा आगामी आर्थिक वर्षको विनियोजन पेस गरेकी हुन् । “आगामी आर्थिक वर्षका लागि आर्थिक विकास, कार्यालय सञ्चालन तथा प्रशासनिक, पूर्वाधार विकास, सामाजिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट सञ्चित कोषमा भार पर्ने खर्च रु २५ अर्ब ११ करोड ४३ लाख ११ हजार र जग्गा एकीकरण आयोजनाहरू तथा अन्य निकायबाट प्राप्त हुने कार्यक्रमका लागि खर्च रकम रु ६५ करोड सञ्चित कोषमा भार नपर्ने गरी कुल रु २५ अर्ब ७६ करोड ४३ लाख ११ बराबर विनियोजन गरिएको छ”, उपप्रमुख डङ्गोलले भनिन्।

बजेटको स्रोतमध्ये काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र बैङ्क मौज्दातबाट रु २० अर्ब १२ करोड ६४ लाख व्यहोरिने जनाइएको छ ।

यसैगरी, नेपाल सरकार तथा प्रदेश सरकारबाट ससर्त तथा समानीकरण अनुदान र राजस्व बाँडफाँटबाट प्राप्त हुने रु चार अर्ब ९८ करोड ७९ लाख ४१ हजार बराबर रकमलाई पनि बजेटको स्रोतमा देखाइएको छ । आगामी आवका लागि राजस्व सङ्कलन प्रभावकारी बनाउन नयाँ करदाता पहिचान गर्ने, कारोबार हुने स्थलमा नै गएर समन्वय गर्नेलगायत नीति अवलम्बन गरिने जनाइएको छ ।

महानगरले आगामी पुस मसान्तसम्म करको दायरामा आउने करदाताका लागि छुटको व्यवस्था पनि ल्याएको छ । यस्तै, महानगरले उठाउने बहाल करलाई एकद्वार प्रणालीमा आबद्ध गर्न सङ्घीय सरकारसँग समन्वय गरिने जनाइएको छ ।






फेसबुकबाट तपाईको प्रतिक्रिया