२०८२ बैशाख २५

काठमाडौँ । काठमाडौँदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान)को पहलमा विशेष भ्रमण टोली काठमाडौंबाट प्रस्थान गरेको छ । पर्यटन व्यवसायी पर्यटक बसमा रारा पुग्ने र बाटोको अवस्थालगायत समग्र यात्राको स्थिति बुझ्न आज नेपाल पर्यटन बोर्डको प्राङ्गणबाट प्रस्थान गरेका हुन् ।
भ्रमण टोलीलाई बिदाइ गर्दै बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले काठमाडौँलाई रारासँग जोड्ने अभियान सुरु भएको बताए । भ्रमणले अब रारा टाढा छैन भन्ने सन्देश फैलाउने र आन्तरिक र क्षेत्रीय पर्यटन प्रवद्र्धनमा पनि योगदान दिने उनको भनाइ छ ।
टुरिस्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष भिष्म न्यौपानेले काठमाडौँदेखि रारासम्मको यात्राको सम्भावना र व्यवस्थापनको अध्ययन गर्न यात्रा उपयोगी हुने बताए ।
टीबानका पूर्वअध्यक्ष कृष्ण आचार्यले सडकमार्फत रारा यात्रा पूर्ण सम्भव रहेको बताए । भ्रमण टोलीमा पर्यटन व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधि सहभागी छन् । अध्ययनपछि नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया