२०८२ आश्विन १६ | Oct 02, 2025

काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा दोस्रो नम्बरमा

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २०
|
408 views

काठमाडौं । केही दिनदेखि काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा अत्यधिक वायू प्रदूषणको प्रभाव देखिएको छ । आइतबारदेखि विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा देखिएको काठमाडौं शहर बुधबार दोस्रो स्थानमा झरेको छ ।

आइतबार विश्वको प्रदुषित शहरको पहिलो नम्बरमा काठमाडौं थियो भने आज (बुधबार) भारतको नयाँ दिल्ली प्रदुषित सूचिको पहिलो नम्बरमा परेको छ । आइतबारदेखि नै अत्यधिक वायू प्रदूषणको प्रभावले काठमाडौंको मौसम खुल्न सकेको छैन । वर्षा नभइञ्जेलसम्म प्रदूषण हट्ने अवस्था नरहेको मौसमविदहरु बताउँछन् ।

१५० एक्युआइ भन्दा माथि प्रदुषणको मात्रा मापन भएपछि त्यो मानव स्वास्थ्यका लागि उपयुक्त हुँदैन । तर काठमाडौंको वायु गुणस्तर २४९ सम्म पुगेको छ । बुधबार काठमाडौं दोस्रो सूचीमा रहे पनि प्रदूषणको मात्रा भने मंगलबारको तुलनामा थप बढेको छ। स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यू एअरका अनुसार हिजो काठमाडौंको वायु गुणस्तर २४८ एक्युआई रहेको थियो भने आज झनै बढेर २४९ मापन भएको छ। त्यसो त बुधबार भारतको नयाँ दिल्लीको वायु गुणस्तर २८४ एक्युआइ मापन भएको छ।

१५० एक्युआई भन्दा माथिको वायु प्रदुषणले केटाकेटी र वृद्धाअवस्थाका मानिसलाई असर गर्न थाल्छ । २०१ देखि ३०० एक्यूआईले सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढाउँछ । अहिले काठमाडौंमा बिहानको समयमा वातावरण अत्यन्त अस्वस्थकर छ । त्यसैले पनि स्वास्थ्य विज्ञहरुले सर्वसाधारणलाई विहानीको समयमा सकेसम्म घर बाहिर ननिस्कन र निस्किनै परेपनि मास्क प्रयोग गर्न सुझाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया