२०८२ भाद्र ६ | Aug 22, 2025

काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन : ऊर्जामन्त्री खड्का

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ३०
DEEPAKKHADKA

ललितपुर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न नसकिने बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणको ४०औँ वार्षिकोत्सवका अवसरमा आज प्राधिकरणमा कार्यरत कर्मचारीलाई दीर्घसेवा पदक, अवकाश पदक र अमर विद्युत्कर्मीलाई सम्मान कार्यक्रममा उहाँले काम गर्ने ज्यालादारी कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न नसक्ने बताउनुभयो । “विद्युत् क्षेत्रको विकासका लागि ज्यालादारी कर्मचारीले धेरै काम गरेका छन्, ज्यालादारी कर्मचारीले राखेको माग सम्बोधन गर्न प्राधिकरण सञ्चालक समिति लागेको छ”, उहाँले भन्नुभयो । श्रमको सम्मान गर्न सञ्चालक समिति लागेको उहाँको भनाइ थियो । उहाँले विगतमा भएका निर्णयलाई क्रमशः कार्यान्वयन गर्दै लगिने स्पष्ट पार्नुभयो । ऊर्जामन्त्री खड्काले सरकारले सबैभन्दा चाँडो मुलुकलाई समृद्ध बनाउने क्षेत्रका रूपमा ऊर्जा क्षेत्रलाई देखेकाले यसको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पूरा गर्न विद्युत् प्राधिकरणको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

मन्त्री खड्काले छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा समेत विद्युत् बिक्री सुरू गरिएको बताउँदै आगामी दिनमा यसलाई झन् फराकिलो बनाउँदै अगाडि बढिने विश्वास व्यक्त गर्नुभयो । छिमेकी मुलुकबाट विद्युत् आयत घटाउँदै निर्यातलाई बढाउँदै लगिएको उहाँको भनाइ थियो । मन्त्री खड्काले गरिब तथा विपन्न नागरिकलाई समृद्ध बनाउन नसकेसम्म मुलुकको विकास हुन नसक्ने भन्दै गरिबका लागि बिनाधितो जलविद्युत्को सेयरमा ऋण उपलब्ध गराउन सरकार लागेको बताउनुभयो । नेपालसँग भएको स्रोत साधनको उच्च प्रयोग गर्दै सरकार अगाडि बढ्न खोजेको मन्त्री खड्काको भनाइ थियो । ऊर्जामन्त्री खड्काले बूढीगण्डकी, अपर अरुण, तमोर, पञ्चेश्वर, दूधकोशी, पश्चिम सेतीलगायत ठूला जलविद्युत् आयोजनालाई सरकारले चाँडो अगाडि बढाउन खोजेको उल्लेख गर्नुभयो । उहाँले प्राधिकरण स्थापनाको ४० वर्षमा पनि ऊर्जालाई सुरक्षित र भरपर्दो रूपमा विकास गर्न नसकिएको बताउनुभयो ।

मन्त्री खड्काले उद्योगले प्रयोग गरेको बिजुलीको पैसा टिओडी मिटरका आधारमा असुल गर्ने काम नेपाल विद्युत् प्राधिकरणको भएको भन्दै डेडिकेटेड र ट्रङ्कलाइनको विषयमा अल्मलिएर बस्ने कुनै ठाउँ नभएको उल्लेख गर्नुभयो । कार्यक्रममा ऊर्जासचिव सुरेश आचार्य, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणलाई यस स्थानसम्म ल्याउन अहोरात्र खट्नुहुने कर्मचारीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि साथ र सहयोग पाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा ऊर्जामन्त्री खड्काले प्राधिकरणमा २० वर्ष निरन्तर काम गरेका पाँच सय ९४ कर्मचारीलाई दीर्घसेवा पदक, २९३ अवकाशप्राप्त कर्मचारीलाई अवकाश पदक र अमर विद्युत्कर्मीका परिवारलाई सम्मान गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया