कार्मचारीलाई अवैध रूपमा बर्खास्त गरेको मुद्दामा क्वान्टास एयरलाइन्सलाई ५ करोड ९० लाख अस्ट्रेलियन डलर जरिवाना

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २
|
561 views

ललितपुर - अस्ट्रेलियाको एक संघीय अदालतले घरेलु ध्वजावाहक विमान सेवा प्रदायक कम्पनी क्वान्टास एयरलाइन्सलाई ५ करोड ९० लाख अस्ट्रेलियन डलर जरिवाना तिराउने फैसला सुनाएको छ।

यो सजाय कोभिड–१९ महामारीको समयमा १,८२० भन्दा बढी ग्राउन्ड कामदारहरूलाई अवैध रूपमा बर्खास्त गरेको मुद्दामा सुनाइएको हो।

फेयर वर्क ऐन अन्तर्गत यो अहिलेसम्म कुनै अस्ट्रेलियाली कम्पनीमाथि लगाइएको सबैभन्दा ठूलो जरिवाना हो। अदालतका न्यायाधीश माइकल लीका अनुसार, यो फैसला अरु कम्पनीहरूका लागि पनि चेतावनीस्वरूप उदाहरण बन्नेछ।

अस्ट्रेलियन ट्रान्सपोर्ट वर्कर्स युनियनले अदालतको यो निर्णयको स्वागत गरेको छ।

कम्पनीले जरिवाना तिर्ने निर्णयमा सहमति जनाएको छ। क्वान्टास समूहकी सीईओ भेनेसा हडसनले पीडित कर्मचारीहरूप्रति दुःख व्यक्त गर्दै भनिन् “यो दुःख भोग्नु परेको १,८२० ग्राउन्ड ह्यान्डलिङ कर्मचारी र उनीहरूका परिवारहरूसँग हामी माफी चाहन्छौँ।”

क्वान्टासले अदालतको निर्णयलाई स्वीकार गर्दै महामारीको समयमा गरिएको निर्णयले कर्मचारीहरूलाई नोक्सान पुर्‍याएको स्वीकार गरेको छ।

 पात्रो/राशिफल  रेडियो YouTube