२०८२ फाल्गुन ६ | Feb 18, 2026

कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठित ७ समितिलाई ४ बुँदे कार्यादेश र ३ बुँदे कार्यविधि

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २३
|
153 views

ललितपुर । कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा गठित ७ सदस्यीय संसदीय विशेष छानबिन समितिलाई ४ बुँदे कार्यादेश र ३ बुँदे कार्यविधि तोकिएको छ ।

सङ्घीय निजामती सेवा विधेयक, २०८० को सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिबाट सभामा पेस भएको प्रतिवेदनमा मूल विधेयकको दफा ८२ मा उपदफा ४ थपिएको, उपदफा ५ मा रहेको व्यवस्थाले गर्दा कानुनी तादात्म्य नदेखिएको हुँदा के कति कारणले यस्तो हुन गएको हो सो सम्बन्धमा छानबिन गर्ने कार्यादेश छ । यस्तै यस्तो कानुनी तादात्म्य नहुने गरी प्रतिवेदन तयार हुनुमा को कसको के कस्तो भूमिका रहेको छ सो को सम्बन्धमा छानबिन गर्न भनिएको छ ।

समितिबाट तयार भएको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा कसैको संलग्नता देखिएमा के कस्तो संलग्नता रहेको छ सो को यकिन गरी त्यस्तो पदाधिकारी वा व्यक्तिलाई प्रचलित कानुन बमोजिम कुनै कारबाही गर्नु पर्ने वा नपर्ने भन्ने सम्बन्धमा सुझाव पेस गर्न भनिएको छ ।

चैथो बुँदामा कानुन निर्माणको क्रममा समितिमा हुने छलफल निर्णय प्रक्रिया प्रतिवेदन लेखन लगायतका विषयमा देखिएका कमीकमजोरी पत्ता लगाइ भविष्यमा त्यस्तो प्रकृतिका कमीकमजोरी हुन नदिन के कस्तो सावधानी वा उपाय अपनाउन पर्ने हो सो सम्बन्धमा सुझा पेस गर्ने कार्यादेश छ भने समितिले प्रचलित कानुनको अधीनमा रही समितिले आफ्नो कार्यविधि आफै बनाई व्यवस्थित गर्न सक्नेछ । यस्तै समितिले आवश्यक देखेमा सम्बन्धित विज्ञ एवं अन्य व्यक्तिको सहयोग लिन सक्नेछ भने समितिलाई २१ दिनको समय दिइएको छ ।
समितिका सदस्यमा कांग्रेसबाट सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया