
ललितपुर । प्रसिद्ध गायिका कोमल ओली प्रसिद्ध गीतकार लोकराज अधिकारी र सङ्गीतकार तथा गायक विपिन घिमिरेको सहकार्यमा नयाँ ‘बिन्ती गर्न जाम’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।
भिडियो अमेरिकाको टेक्ससमा छायाङ्कन गरिएको हो । भिडियोलाई किशन रेग्मीले निर्देशन गरेका हुन भने गोहन आलेले खिचेका हुन् । दिक्षा भट्टले कोरियोग्राफी गरेको भिडियोमा टेक्ससमा रहेका चेलीहरू कामना खरेल ,स्नेहा भुसाल , कविता अर्याल ,संयोना थापा ,सलोनी महर्जन,सरु खरेल पन्त ,लक्ष्मी न्यौपाने लगायतले मोडलिङ गरेका छन् । भिडियोको सम्पादन नीराजन केसीले गरेका हुन् ।
सार्वजनिक भएको गीतका शब्दहरूमा गायिका कोमल ओलीले यस अघि महादेव पति पाउँ भनी गाएका गीतहरूको निरन्तरतामा शिव पुत्र गणेशलाई बिन्ती गरिएको छ । गीत सुन्ने र हेर्नेहरूले टिपिकल तीज गीत भनेर प्रतिक्रिया दिएका छन् । गीतमा सञ्जय श्रीपालको सङ्गीत संयोजन रहेको छ ।
केहिदिन पहिले यस गीतका गीतकार अधिकारी र सङ्गीतकार घिमिरेको सहकार्यमा शिला विष्ट र राधिका भण्डारीको स्वर रहेको फरक तीज गीत ‘ए नि बरिलै’ को भिडियो पनि सार्वजनिक गरिएको थियो । सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलको प्रस्तुति रहेको उक्त मौलिक तीज गीतको भिडियोको निर्देशन शेखर घर्तिमगरले गरेका हुन् ।
सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले तीज जस्तो सभ्य संस्कृतिलाई विकृत पार्ने गरी गीत सङ्गीत आइरहेको परिबेशमा त्यसलाई सभ्य ढङ्गले समाजमा यो हो है तीज पर्वको मर्म बोकेको गीत सङ्गीत भनेर सम्प्रेषण गर्नु राज्यको दायित्व र सांस्कृतिक संस्थानको मूल अभिभारा भएको महसुस गरेर गीत बनाइएर सार्वजनिक गरिएको बताए । सांस्कृतिक संस्थानले संस्कृतिको मौलिकताको जर्गेनाका लागि भनेर बोर्डबाट पारित गरेको शब्दलाई जीवन्तता दिने कोसिस गरेको र तीजको भाव तीजको मर्म बोकेको सिर्जनालाई संस्थानले आधिकारिक रूपमा सार्वजनिक गरेको महाप्रबन्धक पुनको भनाई छ ।
गीतको भिडियोमा संस्थानकै कलाकारहरू ,सुशीला थापा, माया थापा ,गीता थापा , दीपेन्द्र बज्राचार्य , बिना विश्वकर्मा , अक्कल बहादुर पाख्रिन, लोकराज राई , सबनम सिलवाल , मञ्जु भुसाल , सुक्रिमाया मोक्तान , जशराज राई , कल्पना राई , मनोज के.सी , लोककुमारी पूर्वछाने मगर , कविता आले , सोनिया रावत , वर्षा श्रेष्ठ , रिता शाही र ,सम्झना पुतुवारले अभिनय गरेका छन् । बिएम मल्लले खिचेको भिडियोलाई मनिष कार्कीले सम्पादन गरेका हुन् ।
सांस्कृतिक संस्थानकै रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको सङ्गीत संयोजन रेकर्डिङ र मास्टरिङ प्रेम प्रकाश राम्जालीले गरेका हुन् ।
यसै गरी रेग्मीकै निर्देशनमा रिपोटर्स क्लब अमेरिकाको प्रस्तुति रहेको अमेरिकामा छायाङ्कन गरिएको गीतकार अधिकारीले लेखेको ‘शिरफूल हरायो रे’ बोलको अर्को तीज गीतको भिडियो पनि सार्वजनिक भैसकेको छ । गीतमा समीक्षा अधिकारी र सुधा रत्नको स्वर रहेको छ भने सङ्गीत सुरेश अधिकारीको र सङ्गीत संयोजन सञ्जय श्रीपालको रहेको छ । भिडियोलाई गोहन आलेले खिचेका हुन् । भिडियोमा प्रियङ्का ऐरले कोरियोग्राफी गरेकी हुन् । उक्त गीत टेक्ससमा छायाङ्कन गरिएको हो ।
गीतकार अधिकारीले लेखेको अर्को तीज गीत ‘यसपालि तीजमा मैदानै थर्कियो’बोलको सार्वजनिक भिडियोमा गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । युविन इन्टरटेनमेन्टको प्रस्तुति रहेको उक्त भिडियोमा युविन ढुङ्गाना रिचा थापा,नेपाली ब्रो र सपना जनकको अभिनय रहेको छ । शिवन पोख्रेलले निर्देशन गरेको भिडियोलाई सरोज शाहिले खिचेका हुन भने टेकेन्द्र शाहले रङ्ग संयोजन र सम्पादन गरेका हुन् ।
गीतमा सञ्जय श्रीपालको सङ्गीत र सङ्गीत संयोजन रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया