
ललितपुर । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ‘कोशी प्रदेश स्वास्थ्य नीति २०८२’ आज सार्वजनिक गरेको छ । प्रदेशका सबै नागरिक शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपमा स्वस्थ रही उत्पादनशील जीवनयापन गर्न सक्षम हुन भन्ने उद्देश्यसहित स्वास्थ्य नीति सार्वजनिक गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य नीतिमा छ उद्देश्य, २६ वटा नीति तथा रणनीति रहेका स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा केनिन राईले जानकारी दिनुभयो । प्रदेश सरकारको गत साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्वास्थ्य नीति स्वीकृत गरेको थियो ।
मन्त्रिपरिषद्बाट स्वीकृत भएको उक्त स्वास्थ्य नीति आज वेबसाइट र मन्त्रालयको सामाजिक सञ्जाल फेसबुक पेजमा राखिएको छ । स्वास्थ्य नीतिमा प्रदेशमा सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाका लागि पर्याप्त र व्यवस्थित पूर्वाधार नहुनु, प्रदेश तहका अस्पतालबाट कतिपय सेवाहरू गुणस्तरीय रूपमा प्रवाह हुन नसक्नु, स्वास्थ्य क्षेत्रको आवश्यकताअनुसार पर्याप्त जनशक्तिको दरबन्दी नहुनु, उपलब्ध जनशक्तिको उचित व्यवस्थापन हुन नसक्नु, स्वास्थ्य क्षेत्रमा आवश्यकताअनुसार पर्याप्त र उचित लगानी हुन नसक्नुलगायत समस्या उल्लेख गरिएको छ ।
त्यस्तै, विशेषज्ञ चिकित्सकीय सेवा र सघन उपचार सेवा विस्तार हुन नसक्नु, पाँच वर्षमुनिका एक तिहाइ बालबालिकामा रक्तअल्पता र प्रजनन उमेरका महिलामा न्यून पोषणको समस्या व्याप्त हुनु, क्षयरोग, कुष्ठरोग, उपेक्षित उष्णप्रदेशीय रोग तथा कीटजन्य रोगको सङ्क्रमणदर प्रदेशमा उच्च हुनु मुख्य समस्याका रूपमा रहेका छन् । स्वास्थ्य नीतिको लक्ष्य ‘स्वस्थ मानव पुँजी, समृद्ध प्रदेश’ रहेको छ ।
राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण (२०२०) अनुसार कोशी प्रदेशमा मानसिक स्वास्थ्य समस्या अन्य प्रदेशको तुलनामा उच्च रहेको पाइएको छ । उक्त सर्वेक्षणका अनुसार मानसिक रोगको व्यापकता १३ दशमलव ९५, किशोरावस्थामा मानसिक रोग ११ दशमलव ४५, मद्यपानको लतका कारण छ दशमलव ५५, लागुऔषधको दुव्र्यसनका कारण शून्य दशमलव ४५ र आत्महत्याको सोचको व्यापकता १० दशमलव ६५ रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया