
काठमाडौं । नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल आगामी शुक्रबार नेपाल आउने भएका छन् । नेपाल क्रिकेट संघले उनी यही अप्रिल २५ अर्थात् शुक्रबार नेपाल आइपुग्ने जनाएको हो ।
गत चैत १५ गते टोलीको मुख्य प्रशिक्षक पदमा स्टुअर्ट ल नियुक्त भएका थिए । त्यसपछि उनी पहिलोपटक नेपाल आउन लागेका हुन् । यसबीचमा हङकङमा भएको चारदेशीय टी–२०आई शृंखलामा पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्ल प्रशिक्षक तोकिएका थिए ।
उनको पदावधी अप्रिलदेखि दुई वर्षको लागि हुनेछ । गत जनवरीमा यसअघिका प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता सकिएको र नवीकरण समेत नभएको अवस्थामा रिक्त रहेको पदमा आवेदनपश्चात् विभिन्न प्रक्रियाहरू पूरा गर्दै ५६ वर्षीय स्टुअर्ट लको प्रवेश भएको हो ।
क्रिकेटको क्षेत्रमा अनुभवी प्रशिक्षक लले यसअघि श्रीलंका, बंगलादेश, वेष्ट इन्डिज, अफगानिस्तान र अमेरिकाको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् । उनी सन् १९९६ को विश्वकपमा अष्ट्रेलिया उपविजेता हुँदा त्यसको सदस्य थिए ।
यससँगै नेपाली क्रिकेट टोलीमा प्रशिक्षण गर्ने उनी दोस्रो अस्ट्रेलियन हुनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया