खोटाङको एउटै पालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन

खोटाङ ४, साउन २०८१।

खोटाङमा यस वर्ष १६८ मेट्रिक टन लिच्ची उत्पादन भएको छ । गत वर्ष १५३ मेट्रिक टन लिच्ची उत्पादन भएको थियो ।

दश स्थानीय तह रहेको जिल्लामा ३१ हेक्टर क्षेत्रफलमा लिच्चीको व्यावसायिक खेती गरिएको छ । यस वर्ष सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा दुई मेट्रिक टन तथा हलेसी तुवाचुङमा २० दशमलव ५० मेट्रिक टन लिच्ची उत्पादन भएको छ ।

जन्तेढुङ्गा गाउँपालिकामा नौ मेट्रिक टन, बाराहापोखरीमा शून्य दशमलव ५०, खोटेहाङमा ३६, दिप्रुङ चुइचुम्मामा १८ दशमलव ५०, साकेलामा ६ मेट्रिक टन, केपिलासगढीमा शून्य दशमलव ५० मेट्रिक टन र ऐसेलुखर्क गाउँपालिकामा एक मेट्रिक टन लिच्ची उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Global Ime bank
जिल्लामा उत्पादित लिच्चीलाई प्रशोधन गरेर बिक्री गर्ने वातावरण सरकारले मिलाउनुपर्ने रावाबेँसी गाउँपालिका–१ कुभिण्डेका स्थानीय बासिन्दा एवं उद्यमी रामबहादुर राईले बताएइ ।

जिल्लामा उत्पादित लिच्ची स्थानीय हाटबजार तथा राजधानी काठमाडौंलगायत सहरमा बिक्री हुने गरेको छ । जिल्लामा उत्पादिन लिच्ची बिक्रीबाट किसानले वार्षिक करोडौं आम्दानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

लिच्चीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि स्थानीय, प्रदेश र संघीय सरकार यसप्रति उदासिन देखिएको किसानको गुनासो छ । आफूहरूले उत्पादन गरेको लिच्चीलाई स्थानीय सरकारले बजार व्यवस्थापन तथा उद्योग स्थापना गरेर प्रशोधन गर्ने वातावरण मिलाइ दिनुपर्ने किसानको माग छ ।

लिच्ची उत्पादनबाट राम्रो आम्दानी हुने भएपछि स्थानीय सरकारले लिच्चीका बिरुवा निःशुल्क उपलब्ध गराउँदै आएको छ । एकपटक रोपिएका बिरुवाले १० देखि १५ वर्षसम्म फल दिने भएकाले जिल्लाका अन्य किसान पनि लिच्चीको व्यावसायिक खेतीमा आकर्षित हुन थालेका छन् । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया